काठमाडौं, २३ फागुन- प्रधानमन्त्री केपी ओलीलाई बधाई दिन सोमबार नेपाल आएका पाकिस्तानका प्रधानमन्त्री साहिद खकान अब्बासीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को विषय प्राथमिकताका साथ उठाएका छन्। प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग गरेको छुट्टाछुट्टै द्विपक्षीय भेटवार्तामा अब्बासीले सार्क शिखर सम्मेलन पाकिस्तानमा गर्न पहलकदमी लिइदिन आग्रह गरेका थिए। अन्नपूर्ण पोस्टमा खबर छ |
अब्बासीले दुवै नेतालाई पाकिस्तान १९ औं सार्क शिखर सम्मेलन आयोजनाको तयारीमा जुटेको जानकारी दिएका थिए। भारतसँग चिसिएको सम्बन्धका कारण भारतको समझदारीबिना पाकिस्तानमा सार्क सम्मेलन गर्न सहज छैन। दुई वर्षअघि पाकिस्तानमा गर्न तय भएको शिखर सम्मेलन भारतकै कारण स्थगित भएको थियो। अब्बासीले नेपाल सार्कको अध्यक्ष राष्ट्र भएकाले भारतसँग सम्मेलनका लागि पहल गरिदिन ओली र दाहालसँग आग्रह गरेको परराष्ट्र स्रोतले बताएको छ। प्रधानमन्त्री ओलीले पनि पाकिस्तानमा सार्क सम्मेलन गर्नेबारे अरू राष्ट्रसँग छलफल गरेर निष्कर्षमा पुग्ने जवाफ दिएका थिए।
कांग्रेस नेता तथा पूर्वपरराष्ट्र मन्त्री डा.प्रकाशशरण महत भने नेपाल र पाकिस्तानबीचको संवादले मात्र सार्क सम्मेलनको निचोडमा पुग्न नसकिने तर्क गर्छन्।
त्रिभुवन विश्वविद्यालयअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीति संकायका सहप्राध्यापक डा.खड्ग केसीले सार्क सक्रिय बनाउन अब्बासीको भ्रमणले सकारात्मक छलफलको सुरुवात गरेको दाबी गरे। उनले भने, ‘सार्क क्षेत्रीय विकासका लागि महत्वपूर्ण छ, यसका लागि यो भ्रमणले संवाद थालनी गरेको छ।’ यसलाई सद्भावपूर्ण कूटनीतिक भ्रमणको संज्ञा दिँदै उनले धेरै एजेन्डा र अपेक्षा नभएकाले अब्बासी भ्रमणको धेरै समीक्षा आवश्यक नरहेको बताए।
३२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार दिउँसो काठमाडौं उत्रिएका अब्बासी मंगलबार दिउँसो स्वदेश फर्किए। स्वदेश फर्किनुअघि उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि शिष्टाचार भेट गरे। शीतल निवासमा भएको भेटवार्तामा द्विपक्षीय हितबारे छलफल भएको थियो।
पाकिस्तानी प्रधानमन्त्री अब्बासीले माओवादी केन्द्रका अध्यक्ष दाहालसँगको भेटवार्तामा चिनियाँ परियोजना ‘बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई)का विषयमा छलफल गरेका छन्। परियोजनाले दुई देशको आर्थिक सम्बन्ध अझ बलियो बनाउनेमा दुवै सहमत भएको भेटवार्तामा सहभागी माओवादी केन्द्रका वरिष्ठ नेता एवम्र पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिए।










