काठमाडौं । राष्ट्रपतिको निर्वाचनका लागि बुधबार उम्मेदवारी दर्ता हुँदैछ। उम्मेदवारी दर्ताका लागि निर्वाचन आयोगले बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म संसद् भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्नसक्ने व्यवस्था मिलाएको छ।
तेस्रो कार्यकालका लागि हुन लागेको निर्वाचनमा एमालेले राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै उम्मेदवार बनाउने निर्णय गरेको छ। कांग्रेसले भने राष्ट्रपतिको उम्मेदवारको रूपमा लक्ष्मी राइलाई उम्मेदवार बनाउने तयारी गरे पनि आधिकारिक निर्णय भने गरेको छैन। एमाले स्थायी कमिटी बैठकबाट भण्डारीलाई दोहोर्याउने निर्णय गरेको हो। कांग्रेसले बुधबार बिहान नौ बजे बस्ने केन्द्रीय समितिको बैठकबाट नाम टुंग्याउने छ।
संघीय संसदका संसद्का ३३४ मध्ये ३३१ ले मतदान गर्न पाउनेछन्। राष्ट्रियसभाका लागि राष्ट्रपतिबाट मनोनित तीन जना सदस्यलाई सर्वोच्च अदालतले शपथ गर्न रोक लगाएको कारण उनीहरूले मतदान गर्न पाउने छैनन्। त्यस्तै प्रदेशसभाका ५५० सदस्यमध्ये ५४९ जनाले मनदान गर्न पाउनेछन्। प्रहरीको फरारसूचीमा रहेका राजीव गुरुङले प्रदेशसभा सदस्यको शपथ नै लिएका छैनन्।










