२३ फागुन । आज फागुन २३ गते । एक वर्षअघि आजकै दिन सप्तरीको मलेठमा एमालेको मेची–महाकाली अभियानमा प्रहरीको गोली प्रहारबाट पाँचजनाको मृत्यु भएको थियो । प्रहरीको गोली लागी सप्तरी मलेठका सन्जन मेहता, पीताम्बर मण्डल र वीरेन्द्र महतो, प्रसवनीका आनन्द साह र जमुनी मधेपुराका इन्द्रदेव यादवको मृत्यु भएको थियो । उनीहरुलाई सरकारले सहिद घोषणा गरिसकेको छ ।

एमालेको मेची महाकाली अभियानको क्रममा सप्तरी राजविराजस्थित औद्योगिक क्षेत्रमा तत्कालीन मधेसी मोर्चाले गरेको विरोधका कारण भएको थियो घटना । एमालेलाई मधेस विरोधी भन्दै मधेसबाट लखेटिएको दिन । मलेठ घटनापछि हालसम्म प्रधानमन्त्री केपी ओलीले मधेस पस्न सकेका छैनन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तर, आज एक वर्षपछि मधेस नै ओलीको शरणमा पुगेको छ । मधेसी नेताहरू ओलीको सरकारमा जान र मन्त्री बन्न मारामारको अवस्थामा पुगेका छन् । संविधान संशोधनको नाममा राजपा र फोरम सरकारमा जान लागेका हुन् । तर, आज दृश्य फरक भएको छ । हिजोसम्म ओलीको आलोचना र विरोध गर्ने फोरम र राजपाका नेताहरू अहिले उनी नेतृत्वकै सरकारमा सामेल हुन लालायित देखिएका छन् । फोरमले त सरकारमा जाने औपचारिक निर्णय नै गरिसक्यो । राजपा पनि सरकारमा सहभागी हुन व्यग्र प्रतीक्षामा छ ।

एक वर्षअघिसम्म राजपा नेता राजेन्द्र महतो ओलीको नामै सुन्न चाहँदैनथे । तर, प्रतिनिधिसभा निर्वाचनमा उनै महतो ओलीकै सहयोगमा निर्वाचित भएर संसदमा आए । अहिले उनी ओलीको मन्त्री बन्न लालायित छन् । ओली पनि तत्कालीन मधेसी मोर्चाका नेताहरूको उछितो काट्थे । प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एमाले ठूलो दल भएपछि एकाएक नरम भएका छन् । अब उनी मधेसी नेताकै साथ लागेर चाँडै तराई मधेस झर्दैछन् ।