स्वस्थ व्यक्तिका दुबै मिर्गौलाले संयुक्त रुपमा प्रति मिनेट १०० देखि १३० मिलिलिटरसम्म रगत छान्ने काम गर्दछ। साथै पिसाब मार्फत अनावश्यक तथा दूषित पदार्थ शरीरबाट बाहिर निष्कासन गर्दछ। तर कुनैपनि कारणले गर्दा यसरी छान्ने क्षमतामा ह्रास आएमा मिर्गौला रोग लागेको भन्नुपर्ने हुन्छ।

मिर्गौला रोगलाई दुई भागमा विभाजन गरिएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

१ मिर्गौलाघात २ दीर्घकालीन मिर्गौला रोग

१ मिर्गौलाघात : मिर्गौलाको कार्य क्षमतामा अकास्मत वा तिव्र रुपले ह्रास आउँछ। जसमा पिसाबको निष्काशन कम हुन्छ। मिर्गौलाघात सामान्यतया उपचार गर्न सकिन्छ। मिर्गौलाघात विभिन्न कारणले हुनेगर्छ। केही कारण यस्ता छन् :

तीब्र रुपमा झाडापखला लागेर अत्यधिक जल विनियोजन भएमा

अत्याधिक रक्तश्राव भएमा

शरीरमा जीवाणुको संक्रमण भई धेरै नै शिथिल भएमा

कुनै पनि औषधिको धेरै सेवन वा विष सेवन भएमा

मुत्रनली अवरोध वा संक्रमण

मुत्राशयको क्यान्सर भएमा

तीब्र रुपमा मिर्गौला सुन्निने रोग भएमा

असुरक्षित गर्भपतन भए÷गराएमा। आदी

२ दीर्घकालीन मिर्गौला रोग : यो भनेको मिर्गौलामा तीन महिना वा सो भन्दा बढी समयदेखि क्षतिको अवस्था हुनु हो। अथवा मिर्गौलाको कार्यक्षमतामा ह्रास हुनु हो। मिर्गौलाको कार्यक्ष्मता १५ प्रतिशत भन्दा कम हुँदा दीर्घकालीन मिर्गौला रोगले मिर्गौला फेल वा मिर्गौलाको अन्तिम अवस्था सिर्जना गर्नसक्छ। मिर्गौला फेल भएपछि डायलाइसिस वा प्रत्यारोपण नै गर्नुपर्ने हुन्छ।

दीर्घकालिन मिर्गौला रोग हुने कारण

उच्च रक्तचाप

मधुमेह

मिर्गौला सुन्निने रोग

जन्मजात मुत्रनली साँघुरो भई पिसाब ननिस्कने अवस्था

मूत्राशयमा बारम्बर संक्रमण

दुखाइ कम गर्ने औषधिको अत्याधिक प्रयोग

वंशानुगत रोग जस्तै मिर्गौलामा अंगुर जस्तो झुप्पा भएमा

यूरिक एसिडको मात्रा बढी भई बारम्बार बाथ भएमा

मिर्गौलाको दुवैतर्फको रत्तःनली साँघुरिएमा । आदी।