प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका काम छिटो र छरितो गर्न सरकाले अत्याधुनिक प्रविधिमा जोड दिने दिने बताएका छन् । साथै उनले अबको पाँच वर्षभित्र नेपालमा सोचेको भन्दा बढी विकास हुने दावी समेत गरे । आउँदो पाँच वर्षलाई सरकारले विकासका लागि असाधारण समयको रूपमा छुट्टाएको उनको भनाइ छ ।
‘आउने आधादशक नेपालका लागि असाधारण हुनेछ,’ प्रधानमन्त्री ओलीले भने, ‘यो समय सफलता, परिवर्तन र उपलब्धीको समय हुनेछ ।’ नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ७ औं अन्तराष्ट्रिय व्यापार मेलाको बिहीबार राजधानीमा उद्घाटन गर्दै ओलीले सरकार निजी क्षेत्रको संरक्षणमा प्रतिवद्ध भएको विश्वास दिलाए ।
उनले सरकार सावर्जनिक, निजी र सहकारीमार्फत समृद्धिको यात्रामा अघि बढ्ने बताए । ‘सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार छ,’ उनले भने । ओलीले वर्तमान सरकारले भ्रष्टाचारका विरुद्ध र देशको दुरदृष्टिका पक्षमा समेत काम गरेर देखाउने बताए । प्रधानमन्त्री ओलीले नेपालको आयात र निर्यात व्यापारको खाडल डरलाग्दो भएकोले त्यसलाई पुर्न निर्यातजन्य उत्पादन बढाउन सुझाव पनि दिए । ‘हामी १०० रुपैंयाको सामान किन्दा ७ रुपैंयाको सामान बेच्दा रहेछौं’ उनले भने, ‘हरेक पटक हामी ९३ रूपैयाँ घाटाको व्यापार गरिरहेका छौं । यसलाई उकास्ने एकमात्र माध्यम निर्यात व्यापार बढाउनु हो ।’ लालिगुरास बाट










