विराटनगर– प्रदेश १ मा सरकार गठनको एक महिना बित्न लाग्दा समेत मुख्यमन्त्री, सभामुख तथा मन्त्रीहरुले सरकारी आवास पाएका छैनन्।
भौतिक पूर्वाधार अभावका कारण आवासको टुंगो लाग्न नसकेको हो। मन्त्रालयका लागि समेत भवनको व्यवस्थापन हुन सकेको छैन।
आवासको ब्यवस्थापन हुन नसक्दा मुख्यमन्त्री शेरधन राई राष्ट्र बैंकको गेस्टहाउसमा बसिरहेका छन्। उनले फागुन ३ गते नै कार्यभार सम्हालेका थिए।
माघ २९ गते कार्यभार सम्हालेका प्रदेश सभामुख प्रदीपकुमार भण्डारी धरानस्थित निवासवाटै धाउँछन्। आवासको व्यवस्थापन नहुँदा दैनिक धरान–विराटनगर ३८ किलोमिटर ओहोरदोहोर गर्दै आएको उनले बताए। अन्य मन्त्रीहरु पनि विभिन्न कार्यलयका पुराना गाडी चढेर मन्त्रालय धाउने र साँझ घरै पुग्ने गरेका छन्।
‘नयाँ अभ्यास भएकाले सबै कुरा एकैचोटि पूरा हुन सकेको छैन’, सभामुख भण्डारी भन्छन्, ‘दुःखले चल्दै छ। आवास फेला परिनसकेकाले मन्त्रीज्यूहरु पनि घरबाटै धाउनुहुन्छ।’
मुख्यमन्त्रीको कार्यालयले दिएको जानकारी अनुसार आन्तरिक मामिलामन्त्री हिक्मत कार्की रिसोर्टमा बस्दै आएका छन् भने सामाजिक विकासमन्त्री जीवन घिमिरे विराटनगर–१० शान्तिचोकस्थित निजी निवास र पर्यटनमन्त्री जगदीश कुसियत ४० किलोमिटर टाढा सुनसरीको कोशी गाउँपालिका स्थित निवासबाट मन्त्रालय आउ–जाउ गरिरहेका छन्।
मुख्यमन्त्रीको कार्यलयका सचिव सन्तोष श्रेष्ठले नयाँ संरचना र व्यवस्थापनका कारण समस्या देखिएको बताउँदै सबै कुरा विस्तारै व्यवस्थित हुँदै जाने बताए।
‘मुख्यमन्त्री लगायत सम्पूर्ण मन्त्रीहरुका लागि कार्यालय र आवासको खोजी भइरहेको छ, चाँडै समस्या समाधान हुन्छ’, उनले भने।
यता, संसद हल समेत साँगुरो छ। संसद् सचिवालयका अनुसार हलमा ९३ जना सांसद अटाउन समेत समस्या छ।
‘६६ जना सत्तापक्ष, २६ जना प्रतिपक्ष माननीयहरुलाई दुई लाइन राख्न, दर्शकदीर्घा र पत्रकारहरु राख्ने ठाउँ छैन’, संसद् सचिवालयका सचिव केदारप्रसाद पनेरुले भने, ‘हलको अन्य भौतिक पूर्वाधार समेत व्यवस्थित हुन सकेको छैन।’
उनले भौतिक पूर्वाधार अभावमा व्यवस्थापनमा कठिनाइ भएको बताउँदै स्थायी राजधानी तोकिएपछि सबै समस्या समाधान हुँदै जाने बताए।
आवास र कार्यालयको व्यवस्थापनमा समस्या देखिएका कारण सुरक्षा खतरा समेत बढेको सांसदहरु नै बताउन थालेका छन्। इलामका सांसद काजीमान कागतेले राजधानीसँग भारतीय सिमाना जोडिएका कारण थप समस्या आउन सक्ने बताए। उनले अन्य विषय थाती राखेर भए पनि राजधानीको विषय टुंगो लगाएर हाल देखिएका समस्या तत्काल समाधान गर्नु आवश्यक रहेको बताए।
-नेपाल लाइभ बाट









