कैलाली- अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइरहँदा कैलालीकी एक किशोरीमाथि बोक्सीको आरोपमा निर्घात कुटपिट भएको छ।

कैलालीको घोडाघोडी नगरपालिकाकी अन्दाजी १८ वर्षीया चौधरी थरकी किशोरीलाई बोक्सीको आरोपमा स्थानीय तान्त्रिक भोला भन्ने रामबहादुर चौधरीले बोक्सीको आरोप लगाउँदै निर्घाट कुटपिट गरेको स्थानीयले बताएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कुटपिटबाट बेहोस भएकी किशोरीको घोडाघोडी अस्पताल सुखडमा उपचार भइरहेको छ। कुटपिट गर्ने चौधरी विरुद्ध उजुरी दर्ता गर्न खोज्दा इलाका प्रहरी कार्यालय सुखडले दर्ता नमानेको किशोरीका आफन्तले बताएका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी सागर बोहराले इलाका प्रहरी कार्यालय सुखडलाई उद्धृत गर्दै दुवै पक्षको सहमतिमा मिलापत्र गरिएको जानकारी दिए। घोडाघोडी नगरपालिकाका मेयर, वडाअध्यक्षसहितको रोहबरमा मिलापत्र गराइएको थियो। पीडित पक्षले आफूहरूलाई मिलापत्रका लागि दबाव दिइएको बताएका छन्।

घटनाबारे थप छानबिन भइरहेको डिएसपी बोहराले बताए।

नेपाल लाइभ