सरकारले महिला हिंसा न्यूनीकरणका लागि छिट्टै नयाँ कार्यक्रम सार्वजनिक गर्ने भएको छ । १०८औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसका अवसरमा आज काठमाडौंमा आयोजित साक्षात्कारमा श्रम, रोजगारी, महिला, बालबालिका तथा सामाजिक सुरक्षामन्त्री थममाया थापाले बलात्कारीलाई कडा कारबाही गर्ने गरी कार्यक्रम ल्याउन लागिएको जानकारी दिँदै भन्नुभयो, ‘बलात्कारीलाई कडा कारबाही गर्छु र दाइजो प्रथालाई निर्मूल पार्छु ।’
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सांसद पुष्पा भुसालले नेपाली महिला आन्दोलनको इतिहासमा योगमाया न्यौपाने, मंगलादेवी सिंह, सहाना प्रधान, शैलजा आचार्य आदिले दिएको योगदानबाट प्राप्त अधिकारलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
नेकपा ९माओवादी केन्द्र०की नेत्री एवं सांसद सत्या पहाडीले महिलालाई आगामी दिनमा नीतिनिर्माण तहमा अघि बढाउनुपर्ने बताउनुभयो । नेकपा (एमाले)की नेत्री एवं सांसद रामकुमारी झाँक्रीले महिला अधिकारलाई कार्यान्वयन नगर्दासम्म समतामूलक र न्यायमूलक समाज निर्माण हुन नसक्ने विचार व्यक्त गर्नुभयो । शिक्षासेवी गीता राणाले राजनीतिमा आबद्ध महिला नेत्रीले राजनीतिक अधिकारका लागि र अन्य क्षेत्रमा आबद्ध महिलाले महिलाकै शिक्षाका लागि काम गर्नुपर्ने बताउनुभयो ।
यसैबीच एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले महिला अधिकार संरक्षण भएमा मुलुकमा सामाजिक न्याय र समानता कायम हुने बताउनुभएको छ ।
उहाँले १०८ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा विज्ञप्ति जारी गरी मुलुकलाई समृद्ध बनाउन महिलालाई जिम्मेवार निकायमा पु¥याउनुपर्ने बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशम्शेर राणाले पनि विज्ञप्ति जारी गरेर स्थानीय, प्रदेशसभा र संघीय संसद्मा महिलाको प्रतिनिधित्व सुनिश्चित भएसँगै संख्यात्मकबाट अब गुणात्मक रुपमा महिलाहरु अघि बढ्नुपर्ने बताउँदै पार्टीको आन्तरिक संरचना तथा नीतिनिर्माण तहमा पनि महिला सहभागिता वृद्धि गरिने जनाउनुभएको छ ।
यसैबीच एक सय आठौँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा नेपालका लागि चीनका राजदूत यु होङले आज विशेष शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्नुभएको छ ।
सो अवसरमा श्रम, रोजगारी, महिला, बालबालिका तथा सामाजिक सुरक्षामन्त्री थममाया थापाले नेपालको संविधानले व्यवस्था गरेअनुसार राजनीतिक क्षेत्रमा महिलाको सहभागिता राम्रो देखिए तापनि आर्थिक, सामाजिक रुपमा अझै अघि बढ्न नसकेको बताउँदै बालविवाह, दाइजो, छाउपडीजस्ता कुरीति हटाउनुपर्ने चुनौती रहेको उल्लेख गर्नुभयो ।
नेपालका लागि चीनका राजदूत यू होङले नेपाल चीनबीच लामो सम्बन्ध रहेको र आगामी दिनमा नेपाल र चीनका महिलाबीच पनि सम्बन्ध स्थापना गर्न प्रयास गरिने बताउनुभयो । सो अवसरमा नेपाली काँग्रेसकी नेत्री सुजाता कोइराला, एकीकृत (माओवादी केन्द्र)का प्रवक्ता पम्फा भुसाल, महिला नेत्री, सांसद र सञ्चारकर्मीको सहभागिता थियो ।










