नेपालगञ्ज– धनाढ्यहरुसँग ठूलो रकम चन्दा माग्ने आधा दर्जन व्यक्ति प्रहरीको फन्दामा परेका छन्।
होटलमा बसेर मोबाइलबाट धम्कीपूर्ण फोन र एसएमएस गरेर चन्दा माग्ने गरिएको थियो। बाँके र दाङका दश जना धनाढ्यसँग सवा करोडसम्म चन्दा मागेका उनीहरुलाई ५ नम्बर प्रदेश ब्यूरो र बाँके प्रहरीले नियन्त्रणमा लिएको हो।
सुर्खेतका विजयविक्रम शाह, नेपालगञ्जका केशराज भण्डारी, राजु भन्ने अस्फाक सिद्धिकी, कोहलपुरका रमेशप्रसाद अधिकारी, चितवनका विष्णु तिमिल्सिना र कुशल श्रेष्ठ प्रहरीको फन्दामा परेका हुन्। विभिन्न ‘डन समूह’को नाम लिदै उनीहरुले बाँकेका धनाढ्यसँग एक करोड बीस लाख, पच्चिस लाख, अठार लाख र दाङका व्यापारीसँग पच्चिस लाख मागेको प्रहरीकहाँ मौखिक उजुरी आएको छ। बाँके प्रहरी प्रमुख एसपी टेकबहादुर तामाङले दश जना पीडितहरु सम्पर्कमा आएको बताए।
नमस्ते र एनसेलका गरी १२ वटा सीम लिएको यो समूहले अहिलेसम्म एउटै नम्बरबाट फोन र एसएमएस गरेर चन्दा मागेको देखिएको छ। सुर्खेतका शाह र कोहलपुरका अधिकारीका बीचमा माघ महिनामा फोनबाट धम्की दिएर उद्योगी व्यापारीसँग रकम माग गर्ने योजना बनेको खुलेको छ। त्यसका लागि पहिला एनसेलको डिलरमा काम गर्ने भण्डारीमार्फत कुनै प्रमाण नराखी १२ वटा सिमकार्ड उपलब्ध गराएका थिए। सिमकार्ड उपलब्ध भएपछि शाहले सामाजिक सञ्जालमार्फत चिनजान भएका चितवनका तिमिल्सिना र श्रेष्ठलाई बोलाएर ल्याएका थिए। उनीहरुलाई नेपालगञ्जका सिद्धिकीले एउटा पेस्तोल उपलब्ध गराएका थिए।
फाल्गुन ११ गतेदेखि उनीहरुले पैसा भएका व्यक्तिहरुलाई फोन र एसएमएस गरेर मोटो रकम माग्न शुरु गरे। रकम नदिएमा परिवारका सदस्यको ज्यान मार्नेदेखि सवारी साधन विष्फोट गराउने धम्की दिइएको थियो।
पढेलेखेका व्यक्तिहरु सम्मिलित यो समूहले नेपालगञ्ज र कोहलपुरका विभिन्न होटलहरुमा बस्दै चन्दाका लागि धम्कीपूर्ण फोन र एसएमएस पठाउने गरेका थिए। धनी मान्छे चिनाउने, सिमकार्ड उपलब्ध गराउने, फोन गर्ने फरक फरक व्यक्ति मिलेर नयाँ धन्दा थालेका थिए। यो समूहले कोहीबाट पैसा लिइसकेको खुल्न आएको छैन। बाँकेका एसपी तामाङले अहिलेसम्म चन्दा लिइसकेको भन्ने जानकारी प्राप्त नभएको बताए। ‘मसँग पनि चन्दा मागेको भन्नेहरु बढ्दै छन्, पैसा दिइसके भन्ने चाहि कोही आएका छैनन्, एसपी तामाङले भने, समयमै प्रहरीले नियन्त्रणमा लिएकाले पैसा उठाउन पाएनन् कि?’
मुख्य व्यक्तिलाई सार्वजनिक गरिएन बाँके प्रहरीले पक्राउ परेका ६ जनामध्ये बिहीबार अपरान्ह पत्रकार सम्मेलन गरेर तीन जनालाई सार्वजनिक गरेको छ।
मुख्य योजनाकार शाह, भण्डारी र अधिकारीलाई प्रहरीले सार्वजनिक गरेन। अरु तिमिल्सिना, श्रेष्ठ र सिद्धिकीलाई सार्वजनिक गरियो। बाँके प्रहरी प्रमुख एसपी तामाङले अरु तीन जनालाई अन्यत्र राखिएकाले ल्याउन नभ्याएको बताए।
प्रहरीले सबैलाई एकै ठाउँमा राख्दा अनुसन्धानमा असर पर्ने बताउदै मुख्य योजनाकारहरुलाई अन्यत्र राखेको जनाएको छ। ६ जनाको नाम दिने अनि तीन जनामात्रै सार्वजनिक गर्दा केही प्रश्नहरु उठेका छन्।
-देश संचार बाट









