काठमाडौं- सभामुखका लागि शुक्रबार हुने मनोनयनका लागि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उम्मेदवारी नदिने भएको छ ।
सभामुख पदामा उम्मेदवारी दिने कि नदिने भन्ने विषयमा ‘पर्ख र हेर’ नीतिमा रहेको कांग्रेसले वाम गठबन्धनमा सभामुख माओवादीबाट हुने पक्का जस्तै भएपछि उम्मेदवारी नदिने भएको हो।
सभापति शेरबहादुर देउवा निकट एक नेताका अनुसार एमालेबाट सभामुखका लागि उम्मेदवारी परे कांग्रेस अघि सर्ने तर माओवादीबाट आए मनोनयन नगर्ने मनस्थितिमा छ। राष्ट्रपति पदमा एमाले वर्तमान राष्ट्रपति विद्यादेवि भण्डारीलाई नै उम्मेदवार बनाएपछि कांग्रेसले तर्फबाट कुमारीलक्ष्मी राई मैदानमा उतारेको छ।
एमाले र माओवादीबीच भएको भागवण्डा अनुसार माओवादीको भागमा परेको सभामुख पदमा महरालाई उम्मेदवार बनाउने निश्चित भइसकेको छ।बुधबार र बिहीबार माओवादीका शीर्ष नेताहरुबीच भएको अनऔपचारिक छलफलले महरालाई सभामुख बनाउने निचोडमा पुगेका छन्।
कांग्रेस नेता मीनबहादुर विश्वकमाले देश सञ्चारसँग भने, ‘हामी परिस्थितिलाई मूल्यांकन गरेर अघि बढ्छौं।पार्टीभित्र छलफल भइरहेकाले भोलि बिहान नै निर्णय हुन्छ।’










