काठमाडौं- पार्टी एकताको सांगठनिक र सैद्धान्तिक विषय मिलाउन वाम गठबन्धनले गठन गरेको कार्यदलले बैठक आज बस्दैछ। रामबहादुर थापा नेतृत्वको विधान मस्यौदा तथा संगठनात्मक कार्यदल, प्रतिवेदन मस्यौदा कार्यदल र माधवकुमार नेपाल नेतृत्वको विधान कार्यदलको बैठक बस्न लागेको हो।

विधान मस्यौदा तथा संगठनात्मक कार्यदल र प्रतिवेदन मस्यौदा कार्यदलको बैठक साँझ ५ बजे बस्ने तयारी छ। स्थान तय नभए पनि गृहमन्त्रीसमेत रहेका माओवादी नेता रामबहादुर थापा बादलको पायक पर्ने स्थानमा बैठक बस्ने कार्यदलका एक सदस्यले बताए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कार्यदलले एकीकृत पार्टीको विधानको मस्यौदा तयार गरिसकेको छ। मस्यौदा अनुसार एकीकृत पार्टीको सांगठनिक स्वरुपका विषयमा कार्यदल सदस्यहरुले प्रारम्भिक खाका तयार पारिसकेका छन्। केन्द्रीय कमिटी हुँदै, प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, स्थानीय तह र प्रारम्भिक कमिटी बनाउनेसम्मको सांगठनिक ढाँचा तयार गरिएको कार्यदल सदस्य वेदुराम भुसालले नेपाल लाइभलाई बताए।

‘सांगठनिक स्वरुपमा विषय टुंगो लागे पनि संख्याबारे कुनै निर्णय भएको छैन,’ उनले भने, 'कार्यदलको आजको बैठकमा विधानको प्रारम्भिक मस्यौदाका विषयमा सदस्यहरुले छलफल गर्नेछन्।'

कार्यदलमा एमालेबाट ईश्वर पोखरेल, बेदुराम भुसाल, रघुवीर महासेठ, सुरेन्द्र पाण्डे तथा माओवादीबाट रामबहादुर थापा बादल, गिरिराजमणि पोखरेल, मातृका यादव, वर्षमान पुन र जनार्दन शर्मा सदस्य छन्।

त्यस्तै, एमाले नेता माधव नेपाल नेतृत्वको विधान कार्यदलको बैठक पनि आज बस्दैछ। माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक दिउँसो ३ बजेपछि सुरु हुनेछ।

कार्यदलले साझा विषयमा सहमति जुटाउँदै प्रारम्भिक विधान मस्यौदा तयार गरेको छ। माओवादी नेता देवेन्द्र पौडेलले दुवै दलबीच विवाद नभएका विषयमा प्रारम्भिक मस्यौदाको खेस्रा बनाउने काम जारी रहेको बताए।

‘दुवै दलबीच सहमति जुटेका विषयमा प्रारम्भिक खेस्रा तयार गरिएको छ। त्यसैलाई समावेश गरेर प्रतिवेदन बनाउने तयारी छ,’ उनले भने।

एमाले र माओवादी केन्द्रबीच विश्व कम्युनिस्ट आन्दोलनप्रतिको दृष्टिकोण, एकीकृत पार्टीको आवश्यकता, एकीकृत पार्टीको नाम, मार्गदर्शक सिद्धान्तका विषयमा साझा धारणा छन्। कार्यदलको बैठकले समाजवादका न्युनतम कार्यक्रमका विषयमा समेत साझा धारणा तय गरेको छ। कार्यदलमा एमालेबाट माधव नेपाल, भीम रावल, प्रदीप ज्ञवाली तथा रघुजी पन्त तथा माओवादीबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ, शक्ति बस्नेत, पम्फा भुसाल र देवेन्द्र पौडेल रहेका छन्।

दुवै कार्यदलले सांगठनिक र सैद्धान्तिक विषयमा प्रारम्भिक सहमति जुटाउदै संयुक्त छलफलमा जुट्ने तयारी गरेका छन्।

वाम गठबन्धनका प्रमुख नेताले कार्यदललाई प्रतिवेदन बुझाउन १५ दिनको समयसीमा दिएका थिए। दुवै दलका शीर्ष नेताले कार्यदललाई दिएको समयसीमा आज सकिँदैछ।

मन्त्रिपरिषद् विस्तार राष्ट्रपति र सभामुखको उम्मेदवार छनोटमा दुवै पार्टी व्यस्त हुँदा कार्यदलको पछिल्लो बैठक बस्न सकेको थिएन।