झापा- झापाको विर्तामोडमा सुनचाँदी व्यवसाय सञ्चालन गर्दै आएका एक व्यवसायी विगत ६ दिनदेखि बेपत्ता भएका छन्।

दावा ज्वेलर्स सुनचाँदी पसलका सञ्चालक २६ वर्षीय साजन मुखिया फागुन २० गतेदेखि बेपत्ता भएको मुखियाकी श्रीमती रविना मुखियाले बताइन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

विर्तामोडमा शनिबार पत्रकार सम्मेलनको आयोजना गरी रविना मुखियाले बेपत्ता बनेका आफ्ना श्रीमानको खोजीमा सहयोग पुर्‍याइदिन सम्बन्धित सबैमा आग्रह गरेकी छन्।

'मलाई पसलमा बस्दै गर्नु, म मार्केट पुगेर आउँछु भन्दै आइतबार दिउँसो १:४१ बजे फोन सम्पर्क गरेर हिँड्नुभएका मेरा श्रीमानको अहिलेसम्म कुनै अत्तोपत्तो छैन, सबैतिर खोजी भइसक्यो, प्रहरीलाई पनि त्यही दिन राति खबर गरेका छौं', रविनाले भनिन्, 'तपाईंहरुले पनि उहाँको खोजीका लागि सहयोग पुर्‍याइदिनुहोस्।'

यता सुनचाँदी व्यवसायी संघ झापाले पनि साजनको खोजीका लागि सहयोग पुर्‍याउन सबैलाई आग्रह गरेको छ। संघका अध्यक्ष राजु धमलाले प्रहरीलाई समेत उनी बेपत्ता बनेको जानकारी गराएको बताए।

इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायब उपरीक्षक कृष्ण कोइरालाले घटनाका विषयमा सबै संयन्त्र परिचालन गरिसकिएको र घटनाका सम्बन्धमा प्रहरीले गम्भीर भएर अनुसन्धान गरिरहेको बताए।

-नेपाल लाइभ बाट साभार