काठमण्डौ/प्रधानमन्त्री केपी ओलीले आज संसदमा विश्वासको मत लिँदैछन् । २७५ सदस्यीय प्रतिनिधिसभामा एमाले, माओवादी केन्द्र र राजपाको गरी १९४ सिट छ । अझै संघीय समाजवादी फोरमले निर्णय गर्न बाँकी छ । यदि फोरमले निर्णय गरेमा २१० मत हुन्छ । यो भनेको संसद्को दुई तिहाइभन्दा बढी बहुमत हो ।
तर, कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातान्त्रिक पार्टीले पनि प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने भएको छ । राप्रपाको एक मतले ओलीलाई केही फरक पार्दैन । राप्रपाले झापा ३ मा पनि वाम गठबन्धनकै मत पाएर जितेको हो । तैपनि राप्रपा अध्यक्ष थापाले ओलीलाई आर्थिक विकास र समृद्धिका लागि विश्वासको मत दिने निर्णय भएको जनाएका छन् ।
राप्रपाले ओलीलाई विश्वासको मत दिए पनि संसदमा भने सशक्त प्रतिपक्षको भूमिका निभाउने भएको छ । ‘स्थायित्व र समृद्धिका लागि प्रम केपी ओलीलाई बिश्वासको मत दिए तापनि राप्रपाले संसदमा सशक्त र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्नेछ । सरकारको कामको गुणदोषका आधारमा सरकारसँग व्यवहार गर्ने नीति अवलम्बन गर्नेछ,’ राप्रपा अध्यक्ष थापाले ट्विटमार्फत भनेका छन् ।










