काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्र र नेकपा एमालेका सांसदहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै गोरुभन्दा गाढा अगाडि कुदेर गलत प्रचार नगर्न प्रतिपक्षी दल नेपाली कांग्रेसलाई आग्रह गरेका छन्।
पार्टी एकीरण हुँदैन भनी हल्ला चलाएको प्रति व्यंग्य गर्दै अध्यक्ष ओलीले भने, ‘केहीकेही साथीहरुले घोडाभन्दा बग्गी अगाडि र बग्गीभन्दा गाढा अगाडि हुँदैन भन्ने बुझ्नु भएन।’
गठबन्धन निर्माण गरी निर्वाचन गर्नुको एकमात्र उद्देश्य एउटै पार्टी बनाउनु भएकाले त्यही रुपमा अघि बढेको ओलीले बताए। प्रधानमन्त्री ओलीले अबको ५ वर्ष स्थीर र विकासको सरकार गठन हुने बताए।
प्रधानमन्त्रीले विश्वासको मत लिनुभन्दा अगाडि बसेको संयुक्त बैठकमा ओलीले सरकार अब भ्रष्टाचार नियन्त्रण गर्ने, सुशासन कायम गर्ने र समाजवाद उन्मुख समाज निर्माणमा मात्र केन्द्रित हुने बताए।
बैठकमा बोल्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकीकरण हुँदैन कि भन्ने प्रश्न अब नगर्न आग्रह गरे।
जनताको मत एउटै पार्टी निर्माणका लागि प्राप्त भएको र त्यसको उचित सम्मान हुने अध्यक्ष दाहालले बताए।
वाम सरकार स्थिरता र विकासको कोशेढुंगा हुने भएकाले जनतामा थप उत्साह देखिएको र त्यसलाई कायम राख्ने प्रतिबद्धता अध्यक्ष दाहालले व्यक्त गरे।










