काठमाडौं। नेपाली कांग्रेसका नेता गगन थापाले नेपाली काँग्रेस प्रतिपक्षमा बस्ने बताएका छन्। उनले सरकार २ तिहाइको पछि लाग्नुको नियत के हो ? मुलुकमा संस्थाहरु हुँदा हुँदै व्यक्ति बलियो बनाउनुपर्छ भनेको के हो भन्दै थापाले सरकार तथा प्रधानमन्त्री माथि प्रश्नै प्रश्नका चाङ खडा गरेका छन् ।
संसदमा पहिलो पटक आफ्नो सम्वोधनका क्रममा नेता थापाले वपीलाई सम्झेर आफ्नो कुरा शुरु गरेका थिए। विपी कोइरालाले २००५ सालमा नेपाली काँग्रेसको ध्येयको बारेमा लेखेको एउटा सन्दर्भ उल्लेख गर्दै थापाले भने नेपाली काँग्रेस जनताको प्रतिनिधीको संस्था बनाउन चाहन्छ। त्यस्तो संस्थाबाट सरकार बनाउन चाहन्छ र त्यो सरकार जनताको प्रतिनिधीको संस्थाप्रति उत्तरदायी होस।
विपीले भने जस्तै जनताको प्रतिनिधीको संस्था संसद त बन्यो तर त्यसलाई राजाले खाइदिए। दोस्रो पटक पनि राजाले खाइदिए। लामो संघर्षपछि राजसंस्था नै फालिएर नयाँ संविधान जारी हुँदै यहाँसम्म आइपुगेको थापाले स्मरण गराए।
लामो संघर्षपछि संविधानमा वहुलवादमा आधारित वहुदलीय प्रतिष्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली नै नेपालको शासकीय स्वरुप हुने लेखिएको छ। यसप्रति प्रधानमन्त्री तथा विभिन्न दलका नेता सांसदहरुले आफ्नो तथा दलका तर्फबाट प्रतिवद्धता जनाएकोमा खुसी व्यक्त गरेपनि त्यसबाट सन्तुष्ट नभएको थापाले बताए। राजाले पटकपटक खाइदिएको कारण अहिले पनि काँग्रेसलाई आशंका रहने गरेको छ थापाले भने। संविधान संसोधनको विषय अघिल्लो संविधानसभामा राख्दै गर्दा यसको बारेमा उच्चारण गर्नु नै राष्ट्रघात हुन्छ भन्नेहरु कसरि अहिले संविधान संसोधनको मुद्धामा सहमत भएर आए थापाले प्रधानमन्त्री तथा एमालेका अध्यक्ष ओलीप्रति प्रश्न तेर्स्याए।
संविधानसभामा नस्विकार्ने एमाले आज संविधान संसोधन गर्न माथापच्चि गरेर सहमतिमा पुग्दै छ भन्ने चर्चा भएको छ । स्पष्ट वहुमतमा रहेको सरकार दुई तिहाईको समर्थन पुर्याउने लोभमा हिजो राष्ट्रघात देखेको संविधान संसोधन गर्ने ठाउँमा आएको छ। आखिर के का लागि? दुई तिहाईका दिव्यशक्तिको मोहको पछाडीको कारण के हो ? यसको पछाडीको नियत के हो ?
प्रधानमन्त्री ओली लिक्वान र महाथिर महम्मदको प्रशंसक हुनुहन्छ रे। देशमा बलियो नेतृत्व नहुँदा देशमा विकास र स्थिरता हुन नसकेको विश्वास गर्ने साथीहरुले सुनाउने गरेको उल्लेख गर्दै थापाले भने, 'त्यस्तो वलियो नेता हामीले महेन्द्र, विरेन्द्र र ज्ञानेन्द्र देखेर आइसकेका छौ, ३० बर्ष हामीले व्यहोरेर आइसकेका छौ। अब बलियो राजनेताको नाममा हामीलाई अर्को कुनै त्यस्तो महापुरुष चाहिएको छैन।'
संविधानले राज्यको अधिकारहरुलाई स्पष्टसँग भनेको छ र त्यसको व्याख्या समेत गरेको छ। केन्द्र प्रदेश र स्थानिय तहमा अधिकारहरु संविधानमै बाँडिएको छ। सरकार, सदन र अदालतको सीमारेखा पनि कोरेका छौं। संवैधानिक आयोगहरुको व्यवस्था पनि छ। यि संस्थाहरुलाई बलियो बनाउने हो। यस्ता संस्थाहरुलाई संरचनागत रुपमा वलियो बनाएर जनतालाई राज्यले गरेका कामहरु देखाउने हो। विश्वास आर्जन गर्ने हो। तर यस्ता संस्थाहरुलाई बिलयो बनाउनेतर्फ नभइ ब्यक्ति बलियो बनाउनेतर्फ लाग्यौ भने फेरि अर्को दुर्घटना हुने प्रधानमन्त्रीलाई लक्षित गर्दै थापाले चेतावनी दिए।
संविधानले गरेका व्यवस्थाहरुलाई कमजोर बनाउँदै व्यक्ति बलियो बनाउने प्रवृतीको विरुद्ध काँग्रेस उभिन्छ र त्यो दुर्घटना रोक्न चाहन्छ त्यसकारण पनि कााग्रेस प्रतिपक्षमा बस्न चाहन्छ थापाले थपे।
हामीले पटकपटक आन्दोलनमा समृद्धीको बाचा गरेको थापाले स्मरण गराए। हिजो राजाका कारणले भएन भन्यौ राजा फाल्यौ। संविधानको कारणले भएन भन्यौ संविधान फाल्यौ। एकात्मक व्यवस्थाका कारणले भएन भन्यौ त्यो व्यवस्था पनि फाल्यौ। अब हामी स्थिरता नभएको कारणले समृद्धी ल्याउन सकेनौ भनिरहेका छौ। त्यसका लागि अस्थिर सरकार पनि फाल्यौ र स्थिर सरकार पनि ल्याएका छौ। केन्द्र प्रदेश सबैतिर स्थिर सरकार बन्दै छ। केपी ओली शक्तिशाली प्रधानमन्त्री बन्दै हुनुहुन्छ काँग्रेस जस्तो जिम्मेवार प्रतिपक्ष छ। अब यस्तो बेलामा वामगठवन्धनलाई आफ्नो घोषणापत्रमा भनेको कुरालाई ध्यानमा दिएर काम गर्न थापाले सुझाव दिए। अब कसैले काम गर्न सरकारलाई रोक्न सक्दैन। दिन गन्ति गर्नुस र काम थाल्नुस।
थापाले प्रधानमन्त्रीलाई औंल्याउँदै सम्झाएः पाँच बर्षमा प्रत्येक बर्ष दश प्रतिशत आर्थिक बृद्धिदर हुने वामगठवन्धनले घोषणापत्रमा उल्लेख गरेको छ। भ्रष्टाचार शून्य हुन्छ। दुई बर्षभित्र नेपालले एउटा पनि कृषी उपज बाहिरबाट किन्नु पर्दैन। पाँच बर्षभित्र हामीले नै बेचेर पैसा कमाउँछौ। ५ बर्षभित्र नेपालका सबै कृषी योग्य जमिनमा सिंचाइ हुनेछ। फास्ट ट्रयाक ५ बर्षमै बन्नेछ। नीजगढको विमानस्थल ५ बर्षमा बन्नेछ। पूर्व पश्चिम रेलमार्ग ६ लेनको मात्र हुनेछैन त्यसको छेउबाटै विद्युतिय रेलपनि कुद्नेछ। २५ लाख पर्यटक नेपालमा भित्रिनेछन। २० प्रतिशत वजेट शिक्षामा छुट्याइनेछ। प्रत्येक प्रदेशमा एक हजार जनाले उपचार पाउने हजार शैया सहितको अस्पताल खोलिनेछ। सबै खाले महिला हिंसाको अन्त्य हुनेछ। जो महिला हिंसामा संलग्न हुन्छ उसलाई आजिवन श्रम सहितको कारावास हुन्छ भनेर गठवन्धनको घोषणापत्रमा तपाइले लेख्नुभएको छ। मलाई यहाँ तैले हाम्रो घोषणापत्र कण्ठ पारेर आइस भनेर भन्नुहोला। कण्ठ मात्र होइन कण्ठस्थ पारेको घोषणापत्रलाई यो सदनमा पटक पटक दोहोर्याउनेछु, काम भए नभएको गन्ती गराउनेछु। अब यदि तर जस्ता कुनै पनि कुरा आफूहरु सुन्न तयार नभएको उल्लेख गर्दै थापाले घोषणापत्र अनुसार काम गर्न वाम गठवन्धनलाई चुनौती दिए।
अब कुनै पनि छलछामले काम नगर्ने थापाले बताए। अब कुनै किन्तु परन्तु होइन अब परिणाम उधारोमा नभइ खनखन्ती नगदमा चाहिने थापाले बताए। काँग्रेसका सांसदहरुमा उत्साह भरेका थापाले सम्वोधन गरिरहँदा सत्तारुढ दलका सांसदहरु पनि एकटकले ध्यान दिएर उनलाई सुनिरहेका थिए। नेपाली काँग्रेस अब प्रतिपक्षमा बसेर जनताको लागि माग्ने काम गर्छ। प्रतिपक्ष बेञ्च देखाउँदै थापाले भने त्यो प्रतिपक्षको बेञ्चमा बसेर अब माग्ने पालो हाम्रो हो। त्यसका लागि पनि हामी प्रतिपक्षमा बस्न चाहन्छौ। त्यसकारण पनि हामी प्रधानमन्त्रीलाई विश्वासको मत दिन्नौ उनले भने।










