काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद समक्ष सोमबार काठमाडौंमा भएको विमान दुर्घटनाप्रति दुःख ब्यक्त गरेका छन् ।
बंगलादेका प्रधानमन्त्रीलाई टेलिफोन सम्पर्क गर्दै प्रधानमन्त्री ओलीले दुर्घटनामा भएको मानवीय र भौतिक क्षतिप्रति नेपाल सरकारको तर्फबाट दुःख ब्यक्त गरेको प्रम ओलीको सचिवालयद्वारा जारी प्रेस नोटमा जनाईएको छ ।
उक्त प्रेस नोटमा भनिएको छ, ‘ बंगलादेशी प्रधानमन्त्रीसँगको टेलिफोन संवादमा प्रधानमन्त्री ओलीले दुर्घटनामा परी ज्यान गुमाएका यात्रु र दुर्घटनाबाट भएको भौतिक क्षतिप्रति नेपाल सरकार दुःखी रहेको वताउनुभयो । संवादका क्रममा प्रधानमन्त्री ओलीले दुर्घटनामा दिवंगत भएका यात्रुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सनतप्त परिवारजनमा गहिरो समवेदना ब्यक्त गर्नुभयो । ’
प्रेस नोटको पूर्ण पाठ यसप्रकार रहेको छ ।
प्रेस नोट सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद समक्ष आज काठमाडौंमा भएको युएस बंगलाको बम्बार्डियर विमान दुर्घटनाप्रति दुःख ब्यक्त गर्नुभएको छ । बंगलादेका प्रधानमन्त्रीलाई टेलिफोन सम्पर्क गर्नुहुँदै प्रधानमन्त्री ओलीले दुर्घटनामा भएको मानवीय र भौतिक क्षतिप्रति नेपाल सरकारको तर्फबाट दुःख ब्यक्त गर्नु भएको हो ।
बंगलादेशी प्रधानमन्त्रीसँगको टेलिफोन संवादमा प्रधानमन्त्री ओलीले दुर्घटनामा परी ज्यान गुमाएका यात्रु र दुर्घटनाबाट भएको भौतिक क्षतिप्रति नेपाल सरकार दुःखी रहेको वताउनुभयो । संवादका क्रममा प्रधानमन्त्री ओलीले दुर्घटनामा दिवंगत भएका यात्रुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सनतप्त परिवारजनमा गहिरो समवेदना ब्यक्त गर्नुभयो ।
त्रासद् दुर्घटनाले आफू स्तब्ध भएको र दुर्घटनाको खवर पाउनासाथ नेपाल सरकारले शीघ्रातिशीघ्र उद्धार कार्य अघि बढाएको जानकारी दिनु भयो । बंगलादेशको राजधानी ढाकाबाट ६७ जना यात्रु लिएर काठमाडौं आएको यूएस बंगलाको बम्बार्डियर जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भए लगत्तै प्रधानमन्त्री ओली घटनास्थल निरीक्षण गर्न पुग्नु भएको थियो । बंगलादेशका प्रधानमन्त्रीसँगको टेलिफोन संवादमा प्रधानमन्त्री ओलीले आफूले घटनास्थल निरीक्षण गरेको समेत वताउनु भएको थियो ।
दुर्घटनाको यथार्थ कारण पत्ता लगाउन नेपाल सरकार मन्त्रिपरिषद् बैठकबाट आयोग गठन गर्ने प्रधानमन्त्रीले जानकारी गराउनु भयो । बंगालदेशका प्रधानन्त्रीले दुर्घटना लगत्तै उद्धारका लागि नेपाल सरकारले देखाएको तदारुकताप्रति धन्यवाद ब्यक्त गर्नुभयो ।
सम्प्रेषक–रामशरण बजगाईं प्रधानमन्त्रीको सचिवालय फागुन २८,२०७४
-नेपाल जर्नल डट कम बाट साभार









