काठमाडौँ- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले १४५ तोला सुनसहित ६ जनालाई पक्राउ गरेको छ।

दुबईबाट ब्यूटी पार्लरमा कपाल सिधा पार्न प्रयोग गर्ने हेयर इलेक्ट्रिक आइरनमा लुकाई छिपाई ल्याएको अवस्थामा ब्यूरोको टोलीले सोमबार बेलुका सिनामंगलबाट उनीहरुलाई पक्राउ गरी सार्वजनिक गरेको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पक्राउ पर्नेमा बाग्लुङका शशीकला भण्डारी गुरुङ, भक्तपुरका सरोज केसी, झापाका होमबहादुर बुढाथोकी, काभ्रेपलाञ्चोकका जीवन शाक्य, भक्तपुरका बिजु बज्राचार्य र भारतका योगेश मगर रहेका छन्।

शशीकला भण्डारीको श्रीमान्‌ले दुबईबाट सुन पठाइदिने र नेपालमा भण्डारी तथा सरोज केसीले कोटेश्वरमा रहेको बज्राचार्य गहना पसल र शाक्य गहना पसलमा बिक्री–वितरण गर्ने गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ।

बुढाथोकीले चलाएको बा१६च ३५१० नंको कालो कारबाट टोलीले उक्त परिमाणको सुन बरामद गरेको हो।रासस