सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको यूएस बंगला विमानका चालक अविड सुल्तानले उडान भर्नु अघि राजीनामा बुझाएको खुलेको छ । उनका साथीहरुलाई उदृत गर्दै बंगलादेशी सञ्चारमाध्यममा प्रकाशित समाचारमा उनले उडान भर्नुअघि ईमेलमार्फत यूएस बंगलाका अधिकारीहरुलाई राजीनामा पत्र बुझाएको उल्लेख गरिएको छ ।

‘अविडले नेपालको उडान भर्नु अघि नै राजीनामा पत्र बुझाएका थिए’, उनका साथीले प्रथम आलो पत्रिकासँग भनेका छन्, ‘यद्यपि, त्यसलाई अधिकारीहरुले स्वीकार गरेनन् ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अविड र सह-पाइलट प्रिथुला रसिदसहित ४९ जनाको दुर्घटनामा मृत्यु भएको थियो । यूएस बंगला एयरलाइन्सका जनसम्पर्क अधिकारी क्यामरुल इस्लामले भने आफूलाई राजीनामा पत्रबारे कुनै जानकारी नभएको बताएका छन् ।

अविडका एक जना साथीले भनेका छन्, ‘यूएस बंगला एयरलाइन्सका एक जना उच्च अधिकारीले दुई महिनाअघि राजीनामा दिएर इथियोपियन एयरलाइन्समा काम गर्न थालेका थिए । उनीसँग अविड पनि नजिक भएकाले त्यस विमानमा अविड पनि काम गर्ने योजनामा थिए ।’

‘अविडले नेपालको उडान भर्नु अघि नै राजीनामा पत्र बुझाएका थिए’, उनका साथीले प्रथम आलो पत्रिकासँग भनेका छन्, ‘यद्यपि, त्यसलाई अधिकारीहरुले स्वीकार गरेनन् ।’

अविडको नजिकका पाइलटहरुले उनले राजीनामा दिइसकेपछि पनि विमान उडाउन लगाउनु नैतिक रुपमा पनि राम्रो नभएको बताएका छन् । यद्यपि, विमान दुर्घटनाको आधिकारिक कारण जान्नलाई थप अनुसन्धान जरुरी रहेको उनीहरुको भनाइ छ ।

उनीहरुले ब्ल्याक बक्सले त्यसको अनुसन्धान गर्न मुख्य भूमिका खेल्ने बताएका छन् । ब्ल्याक बक्सले विमान चालक र एयरपोर्टको कन्ट्रोल रुममा भएको कुराकानीलाई रेकर्ड गर्ने काम गर्छ ।

सन् २०१५ मे ६ मा अविडले यूएस बंगलामा काम गर्न थालेका थिए । उनी यूएस बंगला -८ क्यू ४०० नम्बरको विमानको चालक दलको सदस्यमध्येका प्रमुख थिए ।

बंगलादेशी वायु सेवामा सन् १९८४ मा प्रवेश गरेका उनी विमान चालकको प्रशिक्षक पनि थिए ।

उनको बंगलादेशको उत्तरामा घर छ, जहाँ उनको श्रीमती र छोरासँग बस्थे । सञ्चारमाध्यमहरुले उनकी श्रीमतीसँग कुरा गर्न खोजे पनि उनी बोल्न चाहिनन् । अन्लाइन खबर बाट

— एजेन्सीको सहयोगमा