काठमाडौं- प्रधानन्यायाधीशबाट अवकाश पाइसकेको भन्दै न्याय परिषद् सचिवालयले बुधबार पत्र थमाएका गोपाल पराजुली राष्ट्रपति कार्यालय गएका छन्।
न्याय परिषदबाट अवकाश पत्र आइसकेपछिको अवस्थामा कसरी अगाडि बढ्ने भनेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्श गर्न पराजुली बिहान शीतल निवास गएका थिए। केही समय छलफल गरेर पराजुली बाहिरिएको शीतल निवास स्रोतले बतायो।
न्याय परिषद् सचिवालयले बुधबार प्रधानन्यायाधीश पराजुलीको हाल कायम रहेको पदावधि असंवैधानिक भएको निर्णय गरेको थियो। परीक्षा नियन्त्रण कार्यालयले न्याय परिषदलाई पठाएको पत्रमा पराजुलीको शैक्षिक प्रमाणपत्रमा गत साउन २१ गते नै ६५ वर्ष पूरा भएको पुष्टि भएपछि सचिवस्तरीय निर्णयबाट उनी पदमा नरहेको जानकारी गराइएको हो।
यसैबीच, न्याय परिषद्कै पत्रका आधारमा सर्वोच्च अदालत प्रशासनले वरिष्ठतम न्यायाधीश दीपकराज जोशीलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिएको छ।
जोशीले आज पदभार सम्हाल्दै आफूसहित सबै न्यायाधीशरुलाई मुद्दाको पेशी पनि तोकेका छन्।( नेपाल लाइभ बाट साभार)










