काठमाडौं– त्रिभुवन विमानस्थलमा गत सोमबार दुर्घटनाग्रस्त युएस–बाङ्ला विमान सन् २००१ मा क्यानडामा निर्माण भएको बंगलादेशी अधिकारीले जनाएका छन्। विमानको उडान क्षमता ८० हजार घन्टा भएको पनि उनीहरूले बताएका छन्। बंगलादेश उड्डयन प्राधिकरणका प्रमुख एम नइम हसनले दिएको जानकारी अनुसार दुर्घटना हुँदा विमानले १९ हजार घन्टा मात्र यात्रा गरेको थियो।
‘बम्बाडियर डास–८ क्यु–४००’ नामक यो विमान सन् २००१ मा निर्माण भएको थियो’, नइमले ढाकामा आयोजित पत्रकार सम्मेलनमा विमान धैरे पुरानो पनि नभएको र उडाउन अयोग्य पनि नरहेको प्रतिक्रिया दिएका छन्। त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त विमानको हाल बजार मूल्य ३ करोड ३२ लाख अमेरिकी डलर छ।
विमान उडाएका क्याप्टेन अबिद सुल्तानको प्राधिकरणका प्रमुख नइमले बचाउ गरेका थिए। सुल्तानले सोमबार ढाकाबाट काठमाडौं उड्नुअघि पदबाट राजीनामा दिएका थिए। नइमले भने, ‘उनी मेरो विधार्थी हुन्। उनी प्रतिभाशाली विद्यार्थी थिए। डास एयरक्राफ्ट उडानमा उनको रेकर्ड राम्रो थियो।’
उड्डयन नियमावली अनुसार पाइलटले जागिरबाट राजीनामा गरेपनि उनलाई पदमुक्त नगर्दासम्म काम गर्नुपर्ने हुन्छ। दुर्घटनाग्रस्त विमानका कप्तान सुल्तानले लामो समय उडान भरेको भन्ने विषयमा पनि नइमले स्पष्टीकरण दिँदै भने, ‘हामी सबै विषयको सुक्ष्म अध्ययन गरिरहेका छौं। यदि पाइलटले आफ्नो समयभन्दा बढी उडान भरेको थाहा भएमा युएस–बाङ्ला विरूद्ध कडा कारबाही गरिनेछ।’
उनले प्लेनको अवस्था राम्रो रहेको प्रस्टीकरण दिए। ३ महिनाअघि मात्र एयरक्राफ्टको वार्षिक परीक्षण गरिएको जानकारी गराए।
‘एयरक्राफ्टको अवस्था खराब थियो भने काठमाडौं उड्नु एक दिनअघि यसले ढाका–चित्तागोंग–ढाकाको यात्रा गर्ने थिएन’, उनले भने।
उनले प्लेनको ‘ब्ल्याक बक्स’ शीर्घ क्यानडास्थित कम्पनीमा पठाउने पनि जानकारी दिए।
‘ब्ल्याक बक्सको डिकोडिङ गरेपछि मानवीय त्रुटिले वा प्राविधिक गडबडीले घटना भयो भन्ने तथ्य बाहिर आउनेछ’, उनले भने।
नेपालले घटनाको अनुसन्धानका लागि ६ सदस्यीय कमिटी गठन गरिसकेको छ। बंगलादेशको पनि तीन सदस्यीय अनुसन्धान टोली काठमाडौंमा छन्।










