काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका विस्तारको तयारी अघि बढाएका छन् । सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई बेलुकासम्ममा मन्त्री बन्नेको नाम टुंग्याउन ओलीले आग्रह गरिसकेका छन्

सरकारमा सहभागी हुने बताइसकेको संघीय समाजवादी फोरम र सरकारलाई समर्थन गरेको राजपालाई पनि सरकारमा सहभागी गराउने विषय तथा मन्त्रालयको भागबण्डाबारे प्रधानमन्त्री र प्रचण्डले आजै टुङ्गो लगाउनेगरी छलफल अगाडि बढाउने भएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यससँगै माओवादी केन्द्रले सरकारमा सहभागी हुने आफ्ना मन्त्रीको नाम टुंग्याएको छ । उसको भागमा परेका सातमध्ये दुई मन्त्रीले शपथ लिइसकेका छन् । बाँकी पाँच मन्त्रालयमा वर्षमान पुन, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत, गिरिराजमणि पोखरेल र विना मगरलाई लैजाने तयारी गरेको जनार्इएको छ । तर माओवादीले कसलाई कुन मन्त्रालय भन्ने टुंगो पनि लगाएको छैन ।

माओवादीबाट सरकारमा पाँचवटा प्रदेशले मात्रै प्रतिनिधित्व गर्ने भएको छ । प्रदेश १ र ४ बाट प्रतिनिधित्व नहुने निश्चित भएको छ । प्रदेश २ बाट भने दुईजना मन्त्री बन्ने भएका छन् । मातृका यादव मन्त्री बनिसकेका छन् भने गिरिराजमणिको नाम निश्चित गरिएको छ ।

पूर्वअर्थमन्त्री वर्षमान पुन र पूर्वगृहमन्त्री जनार्दन शर्मा सुरुमा गृहमन्त्रीका लागि लबिङमा थिए । तर, रामबहादुर थापालाई पार्टीले गृह दिएपछि पुन र शर्मा ऊर्जाका लागि कसरत गरिरहेका छन् । यसअघि ऊर्जामन्त्री बन्दा राम्रो काम गरेकाले पुनः अवसर दिन शर्माको आग्रह छ । पुनले पनि गृह नपाएपछि ऊर्जाको जिम्मेवारी आफुले पाउनुपर्ने बताउदै आएका छन् ।