काठमाडौं- विशेष अदालतले नक्कली प्रमाणपत्रको आधारमा चिकित्सा अभ्यास गर्ने तथा सरकारी सेवामा कार्यरत दुई सरकारी डाक्टरलाई ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको छ।

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी र न्यायाधीशद्वय चण्डीराज ढकाल र नारायणप्रसाद पोखरेलको इजलाशले यस्तो फैसला सुनाएको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

स्वास्थ्य मन्त्रालय अन्तर्गत गाइनोकोलोजिस्टका रुपमा कार्यरत डा सुनिल आचार्य र मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय हेटौंडामा कार्यरत डा रजनी अग्रवालको प्रमाणपत्र नक्कली भएको ठहर गर्दै विशेषले यस्तो सजायको फैसला गरेको हो। विशेषको यो फैसलापछि उनीहरु पदबाट बर्खास्त हुनेछन्।

अख्तियारले २०७३ भदौ ७ मा अग्रवाल र ८ मा आचार्यविरुद्ध नक्कली प्रमाणपत्रको मुद्दा दायर गरेको थियो। अग्रवालले आइएससीको प्रमाणपत्र नक्कली बनाई एमबिबिएस अध्ययन गरेको अख्तियारको आरोपपत्रमा उल्लेख थियो। अग्रवालले बिडी इभिनिङ कलेज पटना भारतबाट सन् १९९९ मा आइएससी प्रथम श्रेणीमा उत्तीर्ण गरेको झुटो शैक्षिक प्रमाणपत्र पेश गरेको ठहर विशेषले गरेको हो।

उनीहरुले नेपाल मेडिकल काउन्सिलबाट सदस्यता दर्ता नम्बर प्राप्त गरेको र सरकारी अस्पतालमा करार नियुक्ति लिएको भन्ने उजुरीका आधारमा अनुसन्धान तथा छानबिन हुँदा यस्तो रहस्य खुलेपछि अख्तियारले विशेषमा मुद्दा हालेको थियो। नेपाल लाइभ डट कम बाट साभार