लालबाबु पंण्डित,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री

 प्रणाली परिवर्तन भए पनि संयन्त्र त्यस्तै छ । पुरानै शैली र ढर्राका छन् । के यसैबाट परिवर्तन सम्भव छ ?

– पहिलाजस्तो स्वस्तिश्री गाइरहनुपर्दैन । अब काम गरेर देखाउनुपर्छ । अब बिग्रेको गाडीको जस्तो सरकार सञ्चालन हुँदैन । काम नगर्ने व्यक्तिलाई तत्काल कारबाही हुन्छ । काम गर्ने व्यक्तिलाई प्रोत्साहन गरिनेछ । देशले गति लिन थालेको छ । त्यो गतिमा हिँड्न नसक्ने पछाडि पर्छ । जो अगाडि बढ्छ, उसैले काम गर्छ । उसैले सम्मान पाउँछन् । चाहे त्यो मन्त्री होस् या कर्मचारी । मन्त्रीले पनि काम गर्न सक्दैन भने उसलाई पनि हटाइन्छ । मैले भन्न खोजेको जो काम गर्न सक्दैन त्यसलाई राख्नुहुँदैन । टिमवर्कमा काम गर्नुपर्छ । मैले जुन गतिमा काम गरिरहेको छु, त्यसमा मलाई प्रधानमन्त्रीले साथ दिइरहनुभएको छ । म प्रधानमन्त्रीलाई साथ दिइरहेको छु । यही गतिमा अरूले पनि काम गर्नुपर्छ । झोक्राएर बस्ने दिन अब गए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

 देश सङ्घीयतामा गइसक्यो । प्रदेश क्रियाशील भइसके । सबै संयन्त्र तयार भइरहेका छन् । खर्च बढेको छ तर आयस्रोत देखिएको छैन । कसरी धान्न धानिएला ?

–आय स्रोत अभाव हामीसँग छैन । हामीले नउठाएको मात्रै हो । एक वर्षमा सरकारलाई तिर्नुपर्ने कर तिर्दैनन्, बरु त्यसलाई रक्सी खान खर्च गरिन्छ । सकभर कर तिर्न नपरोस् भन्ने व्यक्ति धेरै छन् । सरकार मेरो हो, मेरानिम्ति सरकारले केही गर्छ भन्ने भावना हुनुपर्छ । राज्यलाई तिर्नुपर्ने करमा कडाइ गरिनेछ । र, राज्यले दिनुपर्ने सेवा सुविधामा पनि कडाइ गरिन्छ । चुहावट रोक्न सकियो भने त्यसले अर्थतन्त्रमा धेरै बल पु¥याउनेछ ।

रेमिट्यान्स, ऋण सहयोग र अनुदानबाट चल्ने हाम्रो देशमा एकाएक परिवर्तन गरिँदा समस्या हुँदैन ?

– एक समय थियो, हामीले पनि अरूलाई अनुदान दिन्थ्यौँ । हामी त्यसबेला समृद्ध थियौँ । तर, हामी आफ्नै कारणले कमजोर भएका छौँ । अब हामी आफैँ समृद्ध हुनुपर्छ र त्यो बेला आएको छ । युवा विदेश पठाएर विदेशको समृद्धि हुन्छ, नेपालको समृद्धि हुँदैन । प्रकृतिले हामीलाई धेरै कुरा दिएको छ तर त्यसलाई हामीले बिगारेका छौँ । २० वर्षमा नेपाल दाता मुलुकका रूपमा गनिनुपर्छ । दान दिने ठाउँमा हुनुपर्छ, लिने ठाउँमा होइन । मागेर समृद्धि हुँदैन, भागेर समस्या समाधान हुँदैन । त्यसका लागि त्याग र समर्पण हुनुपर्छ ।