काठमाडौं- माओवादी केन्द्रबाट नन्दबहादुर पुनले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएका छन्। उपराष्ट्रपति पदमा बहाल रहेका पुनले बानेश्वरस्थित संसद सचिवालयमा पुगेर सोही पदमा उम्मेदवारी दर्ता गराएका हुन्।

सत्ताको नेतृत्वकर्ता दल एमालेको प्रस्ताव र माओवादी केन्द्रको समर्थनमा पुनले उम्मेदवारी दर्ता गराएका हुन्। प्रस्तावकमा सुवास नेम्वाङ, पम्फा भुसाल, भानुभक्त ढकाल, रेखा शर्मा र पर्शुराम नेगी गुरुङ छन्। समर्थकमा देव गुरुङ, ओनसरी घर्ती, जयपुरी घर्ती, रामनारायण विडारी र राजेन्द्रप्रसाद गौतम रहेको छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उपराष्ट्रपतिमा पुनले दोहरिने इच्छा देखाएपछि माओवादी केन्द्रले उनको नाम सिफारिस गरेको हो। अघिल्लो कार्यकाल छोटो समयको भएको सोही पदमा दोहोर्‍याउन पुनले शीर्ष नेतृत्व समक्ष मनसाय व्यक्त गरेका थिए।

निर्वाचनलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपतिमा नन्दबहादुर पुनलाई दोहोर्‍याउने वाम गठबन्धनका प्रमुख दुई नेताले सहमति गरेका थिए। सोही अनुसार राष्ट्रपतिमा भण्डारी निर्वाचित भइसकेकी छिन्।

भोलि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र चैत ९ गते बिहान १० देखी अपराह्न ३ बजेसम्म मतदान गर्ने कार्यतालिका रहेको निर्वाचन आयोगले जनाएको छ।