कैैलाली । कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममता प्रसाद चौधरीले चन्दा नदिएपछि उनीमाथि आक्रमण गरिएको प्रहरीले जनाएको छ । नगर प्रमुख माथि गोली प्रहार गरेको आरोपमा पक्राउ परेकाहरुलाई सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक बिनोध धिमिरेले बताए ।
गत फागुन २८ गते नगर प्रमुखको आक्रमणमा संलग्न घोडाघोडी नगरपालिकाका कमल क्षेत्री, भरतबहादुर शाह, धनगढी उपमहानगरपालिका पुर्ण प्रसाद खनाल र टिकापुर नगरपालिकाका हृदयराज बोगटीलाई सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीले घटनामा अन्य ९ जनाको समेत संलग्न रहेको बताएको छ । मेयर चौधरीको आक्रमणमा १३ जनाको संलग्नता रहेको प्रहरीको भनाइ छ । खुकुरी र गोली प्रहारबाट घाइते प्रमुख चौधरीको शिक्षण अस्पताल काठमाडौमा उपचार भइरहेको छ ।
यसैबीच प्रहरीले बोक्सी आरोपमा कुटपिट गर्ने ३ जनालाई सार्वजनिक गरेको छ । फागुन२४ गते घोडाघोडी नगरपालिका, देवकलियामा बोक्सीको आरोपमा किशोरीलाई यातना दिएको आरोपमा ६ जना पक्राउ परेका थिए ।
घटनामा कुटपिट गर्ने भोलेबाबा भनिने रामवहादुर चौधरी, उनका सहयोगी किस्मती चौधरी, स्मारिका चौधरीलाई सार्वजनिक गरेको हो । त्यस्तै सोही आरोपमा पक्राउ परेका वेदप्रसाद चौधरी, चनकला चौधरी र सितारानी चौधरीलाई भने अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।










