राजविराज– सप्तरीमा जनप्रतिनिधिबाट सर्वसाधारण कुटिएका छन्। विष्णुपुर गाउँपालिकाका अध्यक्ष लिलाम्बर यादवले न्याय माग्न गएका २२ वर्षीय अनिलकुमार साहलाई कुटपिट गरेका हुन्।

न्यायका लागि हारगुहार गर्दै घरमै पुगेका साहलाई अध्यक्ष यादव तथा घरपरिवारका सदस्य समेत मिलेर कुटपिट गरेका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कुटपिटबाट छाती, कम्मर, पिठ्यूँ र पेटमा चोट लागेका अनिलको राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको उनका काका लोचन साहले बताए।

केही दिनअघिदेखि गाउँमा चोरीका घटनाहरु बढेको र उक्त कार्यमा अध्यक्षकै भतिजा सचिनकुमार यादवको संलग्नता रहेको बताउन जाँदा उल्टै कुटाइ खानुपरेको पीडितले गुनासो गरेका छन्।

अध्यक्ष यादवले चोरीमा भतिजाको संलग्नता स्वीकार गरेर पनि अनिललाई कुटपिट गरिएको भन्दै त्यस्ता जनप्रतिनिधिलाई कानुनी कारबाही गर्न लोचनले माग गरेका छन्।

गाउँपालिका अध्यक्ष यादवले भने गालीगलौज गर्दै अभद्र रुपमा प्रस्तुत भएपछि आक्रोशित परिवारका सदस्यले हातपात गरेको स्वीकार गरेका छन्। कुटपिट गर्ने नियत नभए पनि चोरीको आरोपसहित अभद्र रुपमा प्रस्तुत भएपछि हातपात भएको उनले बताए।

-नेपाल लाइभ बाट साभार