काठमाडौं, ४ चैत– प्रधानमन्त्री केपी ओलीले सांसद रेशम चौधरीलाई रिहा गर्ने आश्वासन दिएपछि राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल पनि सरकारमा सहभागी हुन इच्छुक देखिएको छ । ओलीले मन्त्रिपरिषद् निर्णयबाट मुद्दा फिर्ता लिई सांसद चौधरीलाई रिहा गरिदिने आश्वासन दिँदै राजपालाई सरकारमा सहभागी हुन आग्रह गरेका थिए ।
प्रधानमन्त्रीको आश्वासनपछि नै सांसद चौधरीले शुक्रबार अनशन तोडेका थिए । त्यस क्रममा गृहमन्त्री रामबहादुर थापा र राजपा अध्यक्षमण्डलका सदस्यहरूसमेतको उपस्थिति थियो ।
सरकारमा जाने उद्देश्य राखेर नै राजपाले ओलीलाई संसद्मा विश्वासको मत दिएको थियो । राजपा नेता केशव झाले आफ्नै सांसद हिरासतमा अनशनमा रहेका बेला सरकारमा जाने वातावरण नभएकाले ढिलाइ भएको बताए ।
अनशन तोडेपछि सरकारमा जाने वातावरण निर्माण भएको उनले बताए । ‘संविधान संशोधन र चौधरीको रिहाइ गर्ने सर्तमा राजपा सरकारमा जान तयार छ,’ उनले भने, ‘प्रधानमन्त्री पनि सकारात्मक भएकाले अब यस दिशामा छलफल अघि बढ्छ ।’ राजनीतिक सहमति जुटे फोरम र राजपा एकैचोटि सरकारमा सहभागी हुनेछन् ।, कान्तिपुरमा खबर छ ।
यता नयाँ पत्रिकाका अनुसार फोरमसँग मन्त्रालय बाँडफाँड टुंगिनुअगावै प्रधानमन्त्री केपी ओलीले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेपछि फोरमका नेता सशंकित भएका छन् । गत बिहीबार साँझ वाम गठबन्धन र फोरमबीच भएको छलफलमा मन्त्रालयको टुंगो लाग्न सकेको थिएन । तर, भोलिपल्टै ओलीले मन्त्रिपरिषद् विस्तार गरे ।
बिहीबार साँझ वाम गठबन्धन र फोरमबीच भएको छलफलमा मन्त्रालयको टुंगो लाग्न सकेको थिएन । तर, भोलिपल्टै ओलीले मन्त्रिपरिषद् विस्तार गरे ।
फोरमका एक नेताका अनुसार प्रधामन्त्री ओलीले स्थानीय विकास र सामान्य प्रशासन मन्त्रालय लिन पनि आग्रह गरेका थिए । तर, फोरमले भौतिक योजना तथा पूर्वाधार मन्त्रालयमा जोड दिएको थियो । प्रधानमन्त्री ओलीले भौतिक योजना तथा पूर्वाधार मन्त्रालय आफ्नै पार्टीका रघुवीर महासेठलाई दिइसकेका छन् ।










