काठमाडौं, ४ चैत । युएस बंगला एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउनेहरूका परिवारलाई क्षतीपूर्तीमा विभेद भएको आशंका गरिएको छ ।

दुर्घटनामा परी ज्यान गुमाएका नेपाली र बंगलादेशी नागरिकलाई क्षेतीपूर्तीमा विभेद गरिएको आशंका गरिएको छ । दुर्घटनामा मृत्यु भएका नेपालीलाई क्षतिपूर्ती २० लाख (२० हजार डलर) र बंगलादेशी नागरिकलाई डेढ करोड (१ लाख ५० हजार डलर) दिइन लागिएको भन्दै विरोध सुरू भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बरिष्ठ पत्रकार किशोर श्रेष्ठले क्षतिपूर्तीमा भएको विभेदका बारेका गरेको खुलसा साँघु साप्ताहिकको अनलाइन संस्करणमा प्रकाशित गरिएको छ । जसमा श्रेष्ठले क्षतिपूर्तीमा ठूलो विभेद भएको उल्लेख गरेका छन् ।

‘त्यही जहाज, एउटै दुर्घटना, तर मृत्युको क्षतिपूर्ति फरक-फरक ? हामीले (नेपाल)ले हेग र भियना कन्भेन्सनमा मात्र हस्ताक्षर गरेको हुँदा नेपालीलाई मरणको क्षतिपूर्ति २० लाख (२० हजार डलर), अनि बाङ्लादेशले मोन्ट्रियल सन्धिमा समेत हस्ताक्षर गरेकोले उसका नागरिकहरुलाई चाहिँ डेढ करोड (१ लाख ५० हजार डलर) ? , !’ श्रेष्ठले लेखेका छन् ।

उनले सरकारसँग आफ्ना नागरिकको मरणलाई कुकुर मराईमा परिणत हुन नदिन आग्रह समेत गरेका छन् । ‘ए सरकार, ध्यानाकर्षण होस् ! जहाज बाङ्लादेशको होस अनि टिकेटको मूल्य पनि दुबै देशका यात्रुसङ बराबरी लिइएको हो ! आफ्ना नागरिकको दुस्खद मरणलाई कुकुर मराईमा परिणत हुन नदिइयोस् !’ साँघुमा प्रकाशित समाग्रीमा उल्लेख छ ।

फागुन २८ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको विमानमा सवार ७१ मध्ये ५१ जनाको मृत्यु भएको थियो । दुर्घटनामा २२ नेपाली, २८ बंगलादेशी र एक चिनियाँ नागरिक छन् ।