२००७ को क्रान्तिपछि बनेको सरकारमा विभिन्न विभाग जनाउने मन्त्रालयको निर्माण भयो, जस्तै परराष्ट्र, गृह, रक्षा मन्त्रालय आदि। ‘प्राइमिनिष्टर’ मोहन शमशेरका पालामा विभिन्न विभाग जनाउने मन्त्रालय स्थापना भएकामा केपी ओली दोस्रो पटक प्रधानमन्त्री हुँदा मान्छेका उमेर जनाउने मन्त्रालय थपिएका छन्।
त्यसमध्ये ओलीको दोस्रो प्रधानमन्त्रीत्वकालमा थपिएको उमेरसूचक मन्त्रालय हो, जेष्ठ नागरिक मन्त्रालय। बहुदलकालदेखि नै बालबालिका र युवा मन्त्रालय रहेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्री परिषद्मा जेष्ठ नागरिक मन्त्रालयपनि थपेका छन्। र, पहिलो जेष्ठ नागरिक मन्त्रालय बन्ने मौका पाएकी छन्, एमाले नेतृ थपमाया थापाले।
रमाइलो त के भने, २ चैत्रमा जेष्ठ नागरिक मन्त्रालयको समेत जिम्मेवारी पाएकी उनले ठीक एक महिनाअघि ठीक उल्टो बालबालिका मन्त्रालयको जिम्मेवारी पाएकी थिइन्। त्यसो त, अहिलेपनि उनको जिम्मेवारीमा बालबालिका मन्त्रालय छँदैछ।
ओलीले ३ फागुनमा प्रधानमन्त्री पदको शपथ लिँदा ३ सदस्यीय मन्त्री मण्डल बनाएका थिए, जसमा लालबाबु पण्डितलाई जनसंख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको थियो भने थापालाई महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयको।
तर, १४ फागुनमा दोस्रो पटक मन्त्री मण्डल विस्तार हुँदा थापाको भागमा परेको मन्त्रालयबाट ‘समाजकल्याण मन्त्रालय’ खोसिइसकेको थियो। १४ फागुनमा विस्तार हुँदा उनको भागमा ‘महिला तथा बालबालिका मन्त्रालय’ मात्र रह्यो।
३ फागुनमा शपथ लिएका प्रधानमन्त्री ओलीले २ चैत्रमा दोस्रो पटक मन्त्री मण्डल विस्तार गरे, १४ फागुनको विस्तारले उनलाई ‘घाटा’ लाग्यो, किनभने उनको जिम्मेवारीबाट ‘समाजकल्याण मन्त्रालय’ खोसिएको थियो।
तर, २ चैत्रको विस्तारबाट उनले त्यो घाटाको पूर्ति गरिन्। किनभने, यसपटक उनको भागमा ‘जेष्ठ नागरिक मन्त्रालय’ को जिम्मेवारी थपियो। १ चैत्र साँझ बसेको मन्त्री परिषदको बैठकले उनको जिम्मेवारीमा ‘जेष्ठ नागरिक मन्त्रालय’ पनि थप्ने निर्णय गरेको थियो।
‘खासमा नयाँ मन्त्रालय भनेर नाममात्र थपिएको हो, अहिले थपिएको मन्त्रालयले गर्ने काम त्यसअघि पनि मेरै मन्त्रालयले गर्ने गथ्र्याे’ थापाले नेपालखबरसँग भनिन्, ‘अहिले समाजकल्याण मन्त्रालय हरायो, जेष्ठ नागरिक मन्त्रालय थपियो। भएको यत्ति हो।’
महिला तथा बालबालिका मन्त्रालयमा ‘जेष्ठ नागरिक’ मन्त्रालय थपिनुअघि जेष्ठ नागरिक सम्बन्धी मामिलापनि त्यही ‘समाजकल्याण विभाग’ समेत जोडिएको त्यही मन्त्रालयले हेर्ने गथ्र्याे। थापाका भनाईमा, अब अपाङ्ग लगायतका मामिलापनि यही मन्त्रालयले हेर्नेछ।
थापाका अनुसार, १ चैत्रको बैठकमा जेष्ठ नागरिक मन्त्रालय बनाउने प्रस्ताव मुख्यसचिव लोकदर्शन रेग्मीले लगेका थिए। भनिन्, ‘उहाँले लग्नुभएको प्रस्ताव मन्त्री परिषदले पारित गर्यो। पहिले महिला र बालबालिका मन्त्री थिएँ, त्यो निर्णयपछि जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारीपनि पाएँ।’
-नेपाल खबर बाट साभार









