मोरङको पथरीशनिश्चरे नगर क्षेत्रमा सडकको क्षेत्राधिकार भित्र रहेका पसल, टहरा तथा निर्माण सामग्रीलाई ७ दिन भित्र हटाउन नगरपालिका कार्यालयले निर्णय गरेको छ ।

कार्यालयमा आज भएको सर्वपक्षीय भेलाले चैत ५ गतेदेखि ७ दिनको अवधिमा सडक क्षेत्रभित्र रहेका पसल, टहरा तथा निर्माण सामग्री हटाउन सम्वन्धित पक्षलाई सूचना गर्ने निर्णय भएको नगरपालिकाका प्रवक्ता यामप्रसाद गुरागाईंले जनाउनु भएको छ । जसमा पहिलो चरणमा पूर्वपश्चिम मुख्य सडक र पथरी वजार क्षेत्रका शाखा सडकहरु खाली गर्ने कार्यक्रम भएको प्रवक्ता गुरागाईंले उल्लेख गर्नुभएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

निर्माण सामग्री सडक किनारमा केही समय राख्नुपर्ने वाध्यात्मक अवस्था भएमा छोटो समय अवधिका लागि राख्न नगरपालिकामा जानकारी गराउने र तोकिएको समयमा हटाइसक्नु पर्ने समेत निर्णय भएको छ । यसका साथै नगरपालिका कार्यालय दक्षिण मोड आसपासका सडक क्षेत्रका पसल तत्काल हटाई कार्यालय प्रवेशमार्ग सहज वनाउने निर्णय हुन गएको छ ।

त्यसैगरी, पथरी चोकको पूर्वमा ट्राफिक प्रहरी कार्यालय अगाडि र पश्चिममा पथरी खोला पुल पश्चिममा थालिएको वस विसौनी निर्माण कार्यलाई सम्पन्न गरी त्यहाँ वस विसौनी सार्ने पनि निर्णय भएको छ ।

यी सवै कामका लागि अनुगमन् गर्न १० वटै वडाका अध्यक्ष, पथरी उद्योग वाणिज्य संघ, इलाका प्रहरी, ट्राफिक प्रहरी सहितको संयुक्त अनुगमन समिति वनाएर कार्यान्वयन गर्ने समेत निर्णय भएको छ ।

छलफलमा, नगर प्रमुख दीलिपकुमार राई, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरे, इलाका प्रहरी प्रमुख विजय श्रेष्ठ, पथरी ट्राफिक प्रहरी प्रमुख विष्णुप्रसाद तिम्सिना, पथरी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष विजय डाँगी, पथरी वजार व्यवस्थापन समितिका अध्यक्ष धनप्रसाद सावाँ, वडाध्यक्षहरु सहितको सहभागिता रहेको थियो ।