अमेरिकाको एक विश्वविद्यालयबाट केही वर्षअघि ‘क्वालिफाइड हिलर’ को प्रमाणपत्र पाउने पहिलो नेपाली महिला हुन् रविना देशराज श्रेष्ठ । विश्वका ६ हजारभन्दा बढी महिलालाई उछिन्दै अन्तर्राष्ट्रिय गोल्डेन फिनिक्स अवार्ड र लेडी अफ एक्सिलेन्स अवार्डबाट सम्मानित रविना प्रभावशाली नेपाली महिलाका रूपमा चिनिन्छिन् । उनी यतिबेला मेघा बैंककी सहायक उपप्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत् छिन् ।
बैंकिङ क्यारियरमा २६ वर्ष बिताइसकेकी रविनालाई अध्यात्मिक कुरामा निकै रुचि छ । समय मिल्दा बिहान–बेलुका योगा पनि गर्छिन् । ‘समाजमा हल्ला चल्नु भनेको साधारण कुरा हो । मेरो प्रेमबारे किन हल्ला चल्छ’ उनले भनिन्, ‘त्यसमा स्पष्टीकरण दिइरहनुपर्ने जरुरी छैन ।’ पढौं बैंकिङ क्षेत्र र उनका अनुभवबारे गरिएको कुराकानी :
यहाँ सफल बैंकर भनेर चिनिनुहुन्छ, कस्तो लाग्छ ?
धन्यवाद, सफल भन्दिनुभएकोमा । म आफनो पद, फेम अथवा मान्छेहरुको व्यक्तित्वले चिनेर सफल भएको जस्तो लाग्दैन । मेरो लागि सफलता भनेको आफुले के हासिल गरेको छु र आफुले गरेको कामबाट कति सन्तुष्ट छु अनि कामबाट के–के पाएको छु भन्ने हो । मैले सामाजिक र आर्थिक रुपान्तरणमा कति योगदान दिन खोजेकी छु भन्ने कुराहरुलाई हेरेर भन्ने हो भने म आफुलाई सफल छु भन्ने ठान्छु ।
अचेल केमा व्यस्त हुनुहुन्छ ?
नियमित काममै व्यस्त छु । त्यसबाहेक किताबहरु पढ्छु, दुईजना बच्चाहरुको रेखदेख गर्छु । आफ्नो पनि रेखदेख गर्नै पर्यो । चाँडै एउटा वर्कशप गर्न खोजिरहेकी छु । त्यसका लागि पनि समय दिइरहेकी छु ।
मेगा बैंकसँग कसरी जोडिनुभयो ?
बैंकिङ क्यारियरमा मेरो २६ वर्ष भयो । शुरु गरेको स्ट्याण्डर्ड चार्टर बैंकबाट हो । त्यसपछि नबिल बैंकमा ६ वर्ष ७ महिना काम गरें । मलाई बिकासका कामहरु पहिलादेखि नै मन पर्ने काम हो, त्यसैले पनि आर्थिक रुपान्तरण मात्र होइन सामाजिक तरिकाले पनि नेपालमा हेर्दा धेरै गर्न बाँकी छ । मेगा बैंक अरु बैंकहरु भन्दा अलिकति भिन्न किसिमको बैंक पर्यो जसको उद्देश्य ग्रामीण क्षेत्रहरुमा बैकिङ लिएर जाउँ भन्ने थियो । राष्ट्र बैंकको नियम आउनुभन्दा पहिला हामीले लघुबित्त ऋणहरु पनि दियौं । कमर्सियल बैंकहरुलाई त्यतिबेला खासै त्यस्तो दबाव पनि थिएन । केही नियमहरु पनि आएको थिएन । नयाँ किसिमले १२ सय १९ जना व्यक्तिले खोलेको बैंक हो यो । नयाँ चिज केही गर्न पाउँछु कि भनेर पनि मेगा बैंक आएकी हुँ । सोचाइ अनुसार काम गर्न पनि पाएको छु ।
मेगाको खास विशेषता के हो ?
पहिलो जसरी मेगा बैंक बनेको छ, जसरी बैंकको क्यापिटल बढ्दै गयो त्यो सोचमा नै भिन्नता छ । यो एक–दुई व्यक्ति वा दुई तीन परिवारले चलाएको बैंक होइन यो । यो एउटा नयाँ आर्थिक मोडल पनि हो र नेपालजस्तो देशका लागि एकदमै ठूलो उदाहरण हो जस्तो लाग्छ । किनभने यसमा १२१९ व्यक्तिहरुले ६३ जिल्लाबाट पैसा राख्नुभएको छ । एक करोडसम्मको क्यापिटल बढाएर उहाँहरुले शुरु गर्नु भएको बैंक हो । दोस्रो भिन्नता भनेको यसको लक्ष्यमा छ । पहिलो शाखा स्याफ्रुबेंसीमा खोल्यौं । मुलुकको कुनाकुनामा बैकिङ लिएर जान सक्यौं ।
हलोदेखि हाइड्रोसम्म भन्ने कार्यक्रम कस्तो हो ?
हाम्रो कृषिमा लगानी राम्रो छ । चाहेको जति पुग्न चाहिँ सकेका छैनौं । त्यसका लागि शिक्षाका कुराहरु गर्नुपर्ने जरुरी हुन्छ । मेगा बैंकले हातेमालो गरेर हेल्भेटाज, आइएलओ, युएसआइडी, डिफिड, गरिबी निवारण कोषजस्ता संस्थासँग काम गरिरहेको छ । उहाँहरुले विकासका कामहरु गर्नुहुन्छ अनि हामी लगानीकर्ताका रुपमा जान्छौं । हाइड्रोमा पनि लगानी छ । कृषि क्षेत्रमा हामीले राष्ट्रबैंकलाई जानकारी गराइरहेका हुन्छौ । कति प्रतिशत लगानी गरेका छौं भन्ने जानकारी गराउँछौं । कृषिमा गर्न धेरै बाँकी छ । मेगा बैंकले यसमा प्रयास गरिरहेको छ ।
तपाइँको रुचि अध्यात्मिकतिर पनि छ रे !
'म धेरै नै आध्यात्मिक छु । आध्यात्मिकता र धार्मिक भनेको भिन्न चिज हो । जुन हामीले भगवान भन्छौं बिभिन्न नाम दिएका छौं त्यो जन्मदातालाई सधैं सँगै बस्नका लागि मेरो आफ्नै साधना छ । म एउटा क्रिस्टल थेरापिस्ट पनि हुँ । म हेरक चिजमा भगवान देख्छु । दिनहुँ एक घन्टासम्म योगा गर्छु । खानामा ज्यादै बिचार पुर्याउने गरेकी छु । केही खाँदा पनि शरीरलाई हानि हुन्छ कि भन्ने ख्याल गर्छु । जे पायो त्यही खाँदिन ।
अध्ययनमा कत्तिको समय दिनुहुन्छ ?
आध्यात्मिक स्वाभावको भएको हुनाले आध्यात्मिक पुस्तक नै बढी अध्ययन गर्छु । तीन–चारवटा पुस्तक एकैचोटि पढ्ने गर्छु । व्यवस्थापनदेखि साहित्यसम्म पढ्छु । नयाँ लेखकका पुस्तकहरु पढ्ने गरेकी छु । आफैँ पनि केही लेखिरहेकी हुन्छु ।
राजनीतिमा पनि रुचि छ ?
नागरिक भएपछि राजनीतिमा रुचि राख्नुपर्छ । मैले राजनीतिशास्त्र पढेकी हो । देशको राजनीति के हुँदैछ र कता जाँदै छ भन्ने थाहा पाउनुपर्छ । राजनीति नगरे पनि राजनीतिज्ञहरुसँग हेलमेल चाहिँ भइरहेकी हुन्छु तर पुरै राजनीतिमा नै लाग्छु भनेर चाहिँ मैले अहिलेसम्म सोचेकी छैन।
निकै व्यस्त हुनुहुन्छ, समय कसरी व्यवस्थापन गर्नुहुन्छ ?
हामी त मास्टर्स अफ टाइम म्यानेजमेन्ट हो । कुनै कुनै बेला त १८ वटा हातले काम गरिरहेका हुन्छौं कि झैं हुन्छ । घर पनि सम्हालिरहेका हुन्छौ, परिवारलाई पनि समय दिइरहेका हुन्छौं । समय भनेको आफैंले व्यवस्थापन गर्ने कुरा हो । सधैँ एकनाश हुन्छ भन्ने होइन तर सकेसम्म व्यवस्थापन गर्नुपर्छ ।
दुबै छोराहरु कलाकारितामा छन्, आफ्नै पेशामा आउन् जस्तो लागेन ?
उनीहरुको रुचिको कुरा हो । भगवानले उनीहरुलाई राम्रो पनि बनाइदिएका छन् । कला पनि दिनुभएको रहेछ । उनीहरुलाई त्यसैमा रुचि छ । मलाई के लाग्छ भने नेपालको चलचित्र क्षेत्र बिस्तारै राम्रो हुँदै आइरहेको छ । त्यसमा हामीले केही दिन सक्यौं भने त्यो पनि एउटा उद्यमीहरुको ठूलो सम्भावना बोकेको क्षेत्र हो । त्यसमा मेरा छोराहरुले योगदान दिन सक्छन् भने राम्रो कुरा हो । मेरो उनीहरुलाई स्वीकृति छ ।
प्रेम के हो जस्तो लाग्छ ?
प्रेम भन्ने चिज सबैलाई चाहिने कुरा हो ।
तपाईको छोरा आयुषमान र नायिका प्रियंका कार्कीबीच प्रेमको चर्चा छ ?
छोराको च्वाइसलाई म सधैं सपोर्ट गर्छु । हाम्रो एकदमै पारदर्शी तरिकाले कुरा हुन्छ । ऊ २४ वर्षको केटा हो । बुझ्ने भएको छ । उसको आफ्नो च्वाइसमा मेरो केही प्रश्नहरु भयो भने म उसलाई सिधै सोध्छु । प्रियंकालाई मैले भर्खर चिन्दैछु । राम्रै लागिरहेको छ । उसको च्वाइसलाई म सपोर्ट गर्छु र इज्जत गर्छु ।
तपाईँको पनि प्रेमको चर्चा सुनिन्छ, वास्ताविकता के हो ?
जो महिला एक्लै हुन्छ उसलाई कतै न कतै लोग्ने मान्छेसँग जोडिदिने नराम्रो चलन छ । हाम्रो समाज नै त्यस्तो छ । चाहे त्यो साथी नै किन नहोस् । यदि मैले कोहीसँग लभ गरे अथवा त्यो व्यक्तिसँग मेरो मित्रता थियो भने पनि कसैको निजी जिन्दगीमा चिहाउने कुरा ठिक होइन । यसबारे कसैलाई जवाफ दिनु पनि छैन किनभने जुन तरिकाले हल्ला चल्यो र जो व्यक्तिलाई मैले बुझाउन पर्ने जरुरी ठाने उहाँहरुलाई थाहा छ । मैले सबैलाई यो चिज सार्वजनिक बनाएर यो हो त्यो हो भनेर भन्नुपर्ने जरुरी छैन ।
तपाईंको एकदिन कसरी बित्छ ?
बिहान उठ्छु । नियमित व्यायाम गर्छु । योग गर्छु । बिहान गर्न सकिन भने बेलुका गर्छु । सधैं पूजा गर्छु । त्यसपछि एकछिन बच्चाहरुसँग बस्छु । अनि खाना खाने समय हुन्छ । खाएर अफिस आयो । दिनभर अफिसको काममै व्यस्त होइन्छ । दिउँसो लन्च खायो । बेलुका घर जान्छु । प्राय घर ७ बजे पुगेकै हुन्छु । योगा गर्छु । संगीत सधैं सुन्छु । म खाना एकदमै समयमा खान्छु । मेरो व्युटि रेजिम भनौं कपाल, खुट्टा नङदेखि लिएर शरिर सबै कुराहरुलाई एकदमै हेरबिचार गर्छु । सरल पत्रिका आर्काईभबाट ।










