- प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार, अनियमितता र बहानाबाजीमा काम पन्छाउने कर्मचारीको प्रवृत्ति सरकारलाई स्वीकार नहुने चेतावनी दिएका छन्।

जनताको काम पन्छाउने प्रवृत्ति सरकारलाई सह्य नहुने भएकाले यसबाट तत्काल माथि उठ्न ओलीले निर्देशन दिएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रधानमन्त्री कार्यालयमा मन्त्रीहरु, मुख्य सचिव र सचिवहरुलाई विशेष निर्देशन दिँदै प्रधानमन्त्री ओलीले राज्यको काम गर्न नखोज्ने कसैलाई पनि आफूले छुट नदिने बताए।

बैठकपछि पत्रकारसँग बोल्दै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले ऐतिहासिक दायित्व पूरा गर्न सरकार गठन भएकाले सोही अनुरुप कार्यसम्पादन गर्न प्रधानमन्त्री ओलीले विशेष निर्देशन दिएको बताए।

२०३० सम्म दिगो विकासको लक्ष्य भेट्न अहोरात्र खटिएर जनताको पक्षमा काम गर्न समेत प्रधानमन्त्रीले मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन्।

‘सरकार असमान्य जिम्मेवारी बोकेर सिंहदरबार प्रवेश गरेको कुरा ख्याल गर्दै काम गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ’, परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘संविधान कार्यान्वयन, मौलिक हकहरुको ग्यारेन्टी र जनताको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न सुरक्षा निकायलाई समेत प्रधानमन्त्रीबाट निर्देशन भएको छ।’

संविधान कार्यान्वयनदेखि देशमा देखिएको आर्थिक मन्दीलाई समेत नियन्त्रण गर्ने ऐतिहासिक अभिभारा सरकारसँग भएकाले सोही अनुरुप नतिजामुखी काम गर्न प्रधानमन्त्रीले निर्देशन दिएका छन्।