सरकारले आर्थिक विपन्न युवालाई स्वरोजगार गराउने उद्देश्यले १६ हजारलाई सीपमूलक तालिम दिने भएको छ । गरिबी, सुविधाविहीन, अति सीमान्तकृत तथा सीमान्तकृत जनजाति दलित र अपांगता भएकालाई पहिलो चरणमा उपत्यकाका चार हजार र उपत्यका बाहिरका १२ हजार युवालाई सीपमूलक तालिम दिन थालिएको व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना (इभेन्ट)का परियोजना प्रमुख टेकनारायण पाण्डेले बताए ।
उपत्यका बाहिरका ४६ वटा जिल्लाका युवालाई भने तालिम शुरु गरिसकिएको छ । उनीहरुलाई छोटो अवधिको तालिम दिई रोजगारीमा लाग्न र स्वरोजगार बनाउनका लागि तालिम दिन थालिएको उनले बताए ।
उक्त तालीम प्रवेशिका अनुत्तीण गरेका १६ देखि ४० वर्ष उमेर समूहलाई दिन लागिएको हो । युवालाई विल्डिङ इलेक्ट्रिसियन, इण्डिष्ट्रियल इलेक्ट्रिसियन, मोटरसाइकल सर्भिस, मेकानिकल, जुनियर कम्प्युुटर हार्डवेर टेक्निसियन, मोबाइल मर्मत, भारतीय कुक, ब्यूटिसियन जस्ता तालिम दिन दिइने छ । इभेन्ट परियोजना प्रमुख पाण्डेले तालीम दिन युवाको छनोट सकेर सोमबार काठमाडाैं, ललितपुर र भक्तपुरका चार हजारलाई भौचर वितरण गर्न थालिएको बताए ।
भौचर लिइसकेपछि छनोटमा परेकाले तालिम प्रदायक संस्थाकहाँ गएर तालिम लिनसक्ने छन् । तीन महिने उक्त तालिम उपत्यका बाहिर भने शुरु भइसकेको परियोजना प्रमुख पाण्डेले बताए ।
तालीम लिइसकेपछि ती युवाले लिएको तालिमको सीप परीक्षण केन्द्रबाट सीप परीक्षण गर्ने परियोजना उपनिर्देशक दिनेश खनालले बताए । ‘‘तालिम दिइसकेपछि उक्त संस्थाले नै तालिम लिएका युवालाई रोजगारी दिनेछन्’’ उनले भने ।
इभेन्टले विश्व बैंकसँगको सहकार्यमा पाँच वर्षभित्र मुलुकका एक लाख १५ हजार युवालाई तालिम दिनेछ । सन् २०११ बाट इभेन्टले बेरोजगार युवालाई रोजगार बनाउनका लागि छोटा अवधिका तालिम सञ्चालन गदै आएको छ । इभेन्टले अहिलेसम्म ८७ हजार पाँच सय युवालाई छोटा सीपमूलक तालिम दिइसकेको छ । रासस










