बुटवल- प्रदेश नम्बर ५ को मन्त्रिपरिषद् आज विस्तार हुँदैछ। सरकारमा आजै तीन जना मन्त्री थपिने भएका हुन्। मुख्यमन्त्री शंकर पोखरेल कम्तीमा तीन जना थप गरेर मन्त्रीमण्डलको संख्या ६ पुर्याउने योजनामा रहेको सरकारका प्रवत्ता वैजनाथ चौधरीले जानकारी दिए।
आज विस्तार हुने मन्त्रिपरिषद्मा एमालेका लीला गिरी (रुपन्देही), आरती पौडेल (बाँके) र सुदर्शन बराल (गुल्मी) रहेका छन्।
गिरी रुपन्देही निर्बाचन क्षेत्र २ क बाट निर्बाचित प्रदेश सांसद हुन् भने पौडेल बाँके क्षेत्र नम्बर १ ख बाट निर्वाचित हुन् । सुर्दशन बराल गुल्मी १ क बाट निर्वाचित भए थिए।
गिरीलाई सामाजिक विकास मन्त्रालय, पौडेललाई कृषि तथा सहकारी र बराललाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिने तयारीमा मुख्यमन्त्री रहेका छन्।
मुख्यमन्त्री पोखरेलले आर्थिक मामिला तथा योजना मन्त्रालय आफै राख्नेगरी मन्त्री विस्तारको तयारी थालिएको प्रवत्ता चैधरीले जानकारी दिए। मन्त्री निवासका लागि क्वाटरको अभावका कारण मन्त्री विस्तारमा ढिलाइ भएको उनले बताए। भैरहवाको भैरहवा लुम्बिनी भूमिगत जल परियोजनामा क्वाटरमा मन्त्री निवास रहेपछि मन्त्रीपरिषद्लाई पूर्णता दिन लागिएको हो।
मन्त्रीहरुलाई आजै सपथ खुवाउने तयारी समेत रहेको बुझिएको छ। यसअघि फागुन ३ गते मुख्यमन्त्री सहित ३ जनाको मन्त्रीमण्डल गठन भएको थियो । प्रदेश ५ मा हाल मुख्यमन्त्रीमा एमाले स्थायी समिति सदस्यसमेत रहेका संसदीय दलका नेता शंकर पोखरेल, आन्तरिक मामिला तथा कानुन मन्त्रीमा कुलप्रसाद केसी र भौतिक पूर्वाधार तथा विकास मन्त्रीमा एमालेका वैजनाथ चौधरी छन्।










