अबको दुई सातापछि मुलुकले नेपाल प्रहरीको नयाँ महानिरीक्षक पाउँदैछ । हालका महानिरीक्षक प्रकाश अर्यालसहित दुई दर्जन प्रहरी उच्च अधिकृतले अवकाश पाउँदैछन् । तर, अर्यालभन्दा तीन महिनापछि सेवा प्रवेश गरेका चार डीआईजीले आफूहरूबाटै आईजीपी बनाउनुपर्ने भन्दै लबिङ सुरु गरेका छन् ।

अर्यालभन्दा तीन महिनापछि सेवा प्रवेश गरेका उत्तमकुमार कार्की, छविलाल जोशी, पवन खरेल र ज्ञानबिक्रम शाह यतिबेला आफूहरूमध्ये नै आईजीपी हुनुपर्ने भन्दै सत्तारूढ दलका शीर्ष नेता भेट्ने क्रम जारी राखेका छन् । उनीहरू ३० असार ०४५ मा इन्सपेक्टरबाट सेवा सुरु गरेका डीआईजी हुन् । नेपाल प्रहरीमा आईजीपी अर्यालसँगै सबै एआईजी र तीन डीआईजीले अनिवार्य अवकाश पाउनेछन् । यो तथ्यसँगै ०४५ सालमा प्रहरी निरीक्षक (इन्सपेक्टर) बाट सेवा सुरु गरेका चार डीआइजी र ०४६ सालमा सेवा सुरु गरेका सात डीआइजीबीच आईजीपीको प्रतिस्पर्धा चलेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

डीआइजी सर्वेन्द्र खनाल, रमेश खरेल, पुष्कर कार्की र धीरु बस्न्यातमध्ये एक प्रहरीको नेतृत्वका लागि प्रतिस्पर्धामा छन् । एसएसपीसम्म उत्कृष्ट काम गरेको र डीआईजीमा मूल्यांकन गर्ने समय नपुगेका कारण सुरुदेखि हालसम्मको ट्रयाक रेकर्डमा चार डीआईजी आईजीका लागि उत्कृष्ट देखिएका हुन् । सोही ब्याजका राजेन्द्रमान श्रेष्ठ, ठुले राई, मनोज न्यौपाने, सुरेशविक्रम शाह डीआइजीमा कार्यरत छन् ।

तर, सर्वेन्द्र, रमेश, पुष्कर र धीरु बस्न्यातलाई आईजी बन्न नदिन चार डीआईजीहरू कार्की, जोशी, खरेल र शाहले प्रधानमन्त्री केपी ओलीसँग भेट्न निकै पटक प्रयत्न गरे पनि सफल हुन सकेका छैनन् । उनीहरूले सत्तारुढ एमाले र माओवादी केन्द्रका नेताहरू पनि भेटघाट तीव्र पारेका छन् ।

यदि कार्की, जोशी, खरेल र शाहमध्ये एकजना आईजी बने भने तीन महिना सो पदमा हुनेछन् । तर, प्रधानमन्त्री ओली भने ०४६ सालमा सेवा प्रवेश गरेकामध्येबाटै आईजी बनाउने पक्षमा रहेको बुझिएको छ । स्रोतका अनुसार सर्वेन्द्र खनाल र रमेश खरेलमध्ये एकजना आईजीपी बन्नेछन् । मिडिया एनपी(medianp) डट कम बाट साभार