निवर्तमान प्रधानन्यायाधिश गोपाल पराजुलीविरुद्ध नागरिकता र शैक्षिक योग्यतामा किर्ते गरेर सरकारी सेवामा रहेको भन्दै प्रहरीमा उजुरी परेको छ । गुल्मीका पत्रकार मदन भण्डारीले सोमबार महानगरीय प्रहरी परिसर टेकुमा जाहेरी दिएका हुन् ।
पराजुलीले नागरिकताको प्रतिलिपि बनाउँदा उमेर सच्याएको, शैक्षिक योग्यताका प्रमाणपत्रमै फरक उमेर भेटिएको र शैक्षिक योग्यताको प्रमाणपत्र बुझाउनु पर्ने ठाउँमा नबुझाएको जाहेरीमा उल्लेख छ । ‘नागरिकतामा एउटा मिति, सेवा प्रवेश गर्दा अर्को मिति, शैक्षिक प्रमाणपत्रहरुमा अलग अलग मिति भएका पराजुलीले प्रधानन्यायाधीशको पद लम्ब्याउनको लागि शैक्षिक प्रमाणपत्रका कागजात न्यायपरिषद् सचिवालयमा समेत पेश गरेनन,’ उजुरीमा भनिएको छ, ‘यस्तो व्यक्तिका शैक्षिक प्रमाण र नागरिकताको बारेमा सत्य तथ्य छानविन गरि निजलाई हदैसम्मको कारबाही गरि पाऊँ ।’
प्रहरीले जाहेरी दर्ता गरेको र आवश्यक कागजात झिकाइ अनुसन्धान अघि बढाउने बताएको उजुरीकर्ता भण्डारीले जानकारी दिए । शैक्षिक प्रमाणपत्र अनुसार गत साउन मै अवकास पाउनुपर्ने देखिएको भन्दै न्यायपरिषद्का सचिवले पदमुक्त गरेपछि उनले गत विहिवार पदबाट राजिनामा दिएका थिए ।
-जनता टाइम्स बाट साभार









