टीकापुर घटनाका योजनाकार भनिएका सांसद रेशम चौधरीलाई रिहा नगर्न सचेत गराउँदै पीडितहरूले त्यसो गरिएमा संघर्षमा उत्रने चेतावनी दिएका छन् ।
घटनामा ज्यान गुमाएका प्रहरीका परिवारले चौधरीको रिहाइले आफूहरूमाथि थप अन्याय हुने भन्दै ‘कुनै पनि हालतमा उनलाई माफी दिन नदिन’ सरकारलाई सचेत गराएका हुन् ।
थुनामा रहेका चौधरीलाई छाड्नुपर्ने सर्त राखेर राजपा सरकारमा जाने तयारी गरेपछि पीडितले विरोधमा बोलेका हुन् । ‘टीकापुर हत्याकाण्डका मुख्य योजनाकारलाई नै सरकारले छाड्न लागेको सुन्दा हामीलाई ज्यादै दु:ख लागेको छ,’ घटनामा मारिएका नेपाल प्रहरीका इन्सपेक्टर केशव बोहराकी पत्नी शारदाले भनिन्, ‘यो त हाम्रो घाउमा नुनचुक लगाएजत्तिकै हो । राजनीतिक आवरणमा अपराधीलाई जोगाउन पाइन्छ ?’
कैलालीमा भएको थरुहट आन्दोलनका क्रममा २०७२ भदौ ७ गते टीकापुरमा हिंसा भड्किँदा बोहरालगायत ७ सुरक्षाकर्मी र एक बालकको हत्या भएको थियो । घटनापछि छानबिन गर्दा दोषी देखिएका मुख्य अभियुक्त चौधरीसहित ५२ जनाविरुद्ध मुद्दा दायर भएकामा २२ जना मात्रै पक्राउ परेका थिए, उनीहरू कैलाली जिल्ला अदालतको आदेशअनुसार पुर्पक्षका लागि थुनामा छन्, कान्तिपुरमा खबर छ ।










