काठमाडौैं– पपुआ न्युगिनीलाई हराएपछि सबै खेलाडी बेचैन थिए। हामी आआफ्नो रुममा बसेर हङकङ र नेदरल्यान्ड्सबीचको खेलको अपडेट इन्टरनेटमार्फत लिईरहेका थियौं।

हङकङको विकेट झरेपिच्छे हरेक रुमबाट चर्को स्वरमा खुसी भइरहेको स्वर सुनिरहेको थिएँ। सबैलाई थाहा थियो, हङकङको हारले नेपालको सपना पूरा हुने छ, एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता पाउने, जसका लागि हाम्रा सिनियर खेलाडीले वर्षौ बिताएका थिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हङकङ अलआउट भए लगत्तै हामी चिच्याउँदै कराँउदै एउटै रुममा जम्मा भयौंं। एकले अर्कोलाई अँगालो मार्‍यौँ। पारस दाइ, वसन्त दाइ रोइरहनु भएको थियो। उहाँहरुको अनुहार खुसीका आँशुले भरिएका थिए। पारसले दाइले अँगालो मार्दै भन्नुभयो, थ्यांक यु भाइ तिम्रै कारणले हामीले यो सफलता हात पार्न सक्यौं।

सायद मेरो जीवनमा कसैले ब्यक्त गरेको त्यो अहिलेसम्मकै सर्वाधिक अविस्मरणीय वाक्य थियो। त्यतिबेला मैले क्यानडाविरुद्धको त्यो मेरो इनिङको महत्व अझ बुझेँ।

पारस दाइ, शरद दाइ, वसन्त दाइ, शक्ति दाइहरुले यसैका लागि १०/१५ वर्ष बिताउनु भयो।

यो उहाँहरुको धैर्यतापूर्ण परिश्रमको सुखद अनुभव थियो। हामी जुनियर खेलाडीहरु उहाँहरुको खुसी देखेर त्यसैत्यसै दंग थियौं। उहाँहरुको सपना पूरा भएको छ। तर हामी यतिमै सीमित हुनु हुँदैन।

हामीले अब नेपाललाई टेस्ट मान्यता दिलाउनु पर्छ। एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउन सक्छौं भने टेस्ट मान्यता पनि पाउन सक्छौं।

जसरी हाम्रा सिनियरले लगातार मिहेनत गर्नुभयो, पर्खनु भयो, हामीले पनि अब टेस्ट सपना देख्न सुरु गर्नुपर्छ।

एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि पनि सिनियर दाइहरुले पटक पटक धन्यवाद दिइरहनु भएको छ।

जतिबेला एकदिवशीय अन्तर्राष्ट्रिय मान्यताको कुरा उठ्छ, दाइहरुले दोहोर्‍याइ हाल्नु हुन्छ, भाइ तिमीले त्यो दिन त्यसरी नखेलिदिएको थियो भने आज यो सम्भव हुने थिएन, थ्यांक यु भाइ। त्यो सफलता हात पारेको दिन हामी रातभर निदाउन सकेनौं। सोमपाल र म रुममेट थियौं। सोमपाल र म राति ३ बजेसम्म जागै थियौं।

सोमपालले आज निद्रै लागेन दाइ भन्यो। उसले पनि मलाई थ्यांक यु दाइ भनिरह्यो। म भने जब धन्यवाद पाउँछु, क्यानडाको खेल दिमागमा आइहाल्छ।

(नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य करन केसीसँग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार साँझ गरिएको कुराकानीमा आधारित। करनले नामिबियामा भएको वर्ल्ड क्रिकेट लिग डिभिजन दुईको राउन्ड रोबिन लिगको अन्तिम खेलमा १० औँ नम्बरमा आएर क्यानडाविरुद्ध अविजित ४२ रन बनाएका थिए। उनले १० औं विकेटका लागि सन्दिप लामिछानेसँग अविजित ५१ रनको साझेदारी गरेपछि नेपाल विश्वकप छनोटमा पुग्न सफल भएको थियो। त्यतिबेला करनले नाटकीय पाली खेलेका थिए।)देशसञ्चार