६ चैत – श्रम तथा रोजगार मन्त्री गोकर्ण बिष्टले वैदेशिक रोजगारीका क्षेत्रमा रहेका सबै किसिमका सिन्डिकेटको अन्त्य गर्ने दाबी गरेका छन् ।

मंगलबार आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गर्दै मन्त्री बिष्टले वैदेशिक रोजगारीका क्षेत्रमा विकृति ल्याउनेलाई होतोत्साही बनाउने बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘युवालाई मार पर्ने गरी पर्दा पछाडि हुने सबै खालका विकृतिको अन्त्य गर्न मैले काम गर्छु,’ बिष्टले भने,‘त्यसका लागि सबै सरोकारवाला निकायसँग मेरो छलफल चलिरहेको छ । आवश्यक गृहकार्य गरेर केही समयभित्रै उचित कदम चाल्दैछु ।’

बिष्टले विदेश जाने कामदारलाई आर्थिक तथा प्राविधिक समस्या र भार थपिने गरी सिर्जना गरिएका सिन्डिकेटको अन्त्य गर्न सरकार प्रतिवद्ध रहेको बताए । त्यसका लागि आवश्यक नीतिगत व्यवस्था र कुटनीतिक पहलकदमी अघि बढाइएको उनले बताए ।

उनले कामदारको हितविपरीत कसैका स्वार्थमा खडा गरिएका सिन्डिकेट अब बाँकी नराखिने बताए । बिष्टले कानुनबिपरीत जाने छुट कसैलाई पनि नभएको भन्दै बेठीक गर्ने कसैलाई छुट नदिने दोहोर्‍याए ।

अहिले विदेसिने युवासँग रकम उठाउनकै लागि विभिन्न प्रकारका सिन्डिकेटहरु खडा गरिएका छन् । बायोमेट्रिक मेडिकल, भीएलएन, माइग्राम्स र ओएससी लगायतका कारण मलेसिया रोजगारमा जाने कामदारलाई ठूलो आर्थिक भार थपिएको छ ।

श्रममन्त्री बिष्टले यस्ता सिन्डिकेट खडा गरिएका कुनै पनि पक्षलाई अब कायम नराखिने बताएका छन् । उनले लोकतन्त्रमा प्रतिस्पर्धाकै माध्यमबाट सुशासन कायम हुने भन्दै अब कुनैपनि नामका सिन्डिकेट नराख्न आफू तयार भएर आएको बताए ।