काठमाडौं- वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले समृद्धिमार्फत जनताको जीवनमा सुखी ल्याउने काममा सरकार लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
मन्त्रालय अन्तर्गतका विभिन्न विभाग तथा विकास समितिको ब्रिफिङका क्रममा मन्त्री बस्नेतले देश राजनीतिक संक्रमणबाट मुक्त भएकाले अब जनताले व्यवहारमा महसुस गर्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिए।
'अब संक्रमणकालको बहानामा जनताका काममा ढिलासुस्ती र हेलचेक्रयाइँ गर्ने दिन सकिए', मन्त्री बस्नेतले भने, 'इमान्दारी र दृढतापूर्वक जनताको खुसीका लागि काम गर्नुस्।'
बस्नेतले जनताको अपेक्षा र मुलुकको आवश्यकताअनुसार कर्मचारीले पुरानो कार्यशैलीमा सुधार गर्नुपर्नेमा जोड दिँदै भने, 'राष्ट्रले समृद्धि र जनताले सुख पाउनुपर्छ।'
मन्त्रालय र विभागका काम पारदर्शी र जनता केन्द्रित हुनुपर्ने बताउँदै उनले भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने प्रतिबद्धता व्यक्त गरे।
मन्त्री बस्नेतले जनताका काम गर्न कानुन वा ऐनले रोकेको भए सरकार त्यसलाई परिवर्तन गर्न तयार रहेको भन्दै ऐन र कानुनको अर्घेल्याइँ देखाएर पन्छने प्रवृत्ति सह्य नहुने स्पष्ट पारे।
मुलुकको झन्डै ४४ प्रतिशत भूभाग वन क्षेत्रले ओगटेको चर्चा गर्दै उनले कुल ग्रार्हस्थ उत्पादनमा वन क्षेत्रको योगदान निराशाजनक रहेकोप्रति चिन्ता व्यक्त गरे।
मन्त्री बस्नेतले आगामी दिनमा वन क्षेत्रले कुल ग्रार्हस्थ उत्पादनमा योगदान गर्नुका साथै रोजगारी सिर्जना गर्नेगरी कार्ययोजना ल्याउन पनि कर्मचारीलाई निर्देशन दिए।
बस्नेतले राष्ट्रिय प्रकृति संरक्षण कोष, राष्ट्रपति चुरे तराई–मधेस संरक्षण समिति, टिम्बर कर्पोरेसन अफ नेपाल, वन पैदावार विकास समिति, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी, भू–तथा जलाधार विभाग लगायतको ‘ब्रिफिङ’ लिएका थिए।
-नेपाल लाइभ बाट









