पूर्वप्रधानमन्त्री तथा कांग्रेस नेता गिरिजाप्रसाद कोइरालाको ८ औँ स्मृति दिवस पारेर बुधबार विभिन्न कार्यक्रम हुँदैछ छन् ।
भारत निर्वासनमा रहेकै बेला विसं १९८१ सालमा कृष्णप्रसाद कोइराला र दिव्या कोइरालाको पुत्रका रुपमा बिहारको टेडीमा जन्मिएका कोइरालाको २०६६ साल चैत ७ गते निधन भएको हो । २०६२÷०६३ को जनआन्दोलनमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा राजसंस्थाको अन्त्यसँगै संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको थियो । नेपाली कांग्रेस र उसका जनसम्पर्क समितिहरुले स्मृति दिवसमा विभिन्न कार्यक्रम गर्दैछन ।
आफ्नै पार्टीको सरकार भएका बेला सशस्त्र युद्धमा होमिएको माओवादीलाई शान्तिको बाटोमा ल्याउनु कोइरालाको महत्वपूर्ण कार्य मानिन्छ ।पाँचपटक प्रधानमन्त्री बनेका कोइराला तीनपटक नेपाली कांग्रेसको सभापति भएका थिए । गणतन्त्र स्थापनापछि उनले राष्ट्रप्रमुखको भूमिका समेत निर्वाह गरेका थिए । कुशल संगठक, खरो स्वभाव अनि प्रष्ट दृष्टिकोण भएका मानिने कोइरालाले शान्ति प्रक्रियामा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
कृष्णप्रसाद कोइरालाका कान्छा छोराका रुपमा जन्मेका कोइरालाको कोइरालका दुई दाइ बिपी कोइराला तथा मातृकाप्रसाद कोइराला नेपालका प्रधानमन्त्री भएका थिए । सन् १९२९ मा परिवारसँगै नेपाल फर्केका गिरिजाले सुष्मा कोइरालासँग विवाह गरेका थिए । २००८ सालमा कोइराला नेपाली कांग्रेस मोरङको सभापति बनेका थिए ।
२०१७ सालमा राजा महेन्द्रले सत्ता कब्जा गरी पञ्चायती शासन लगाएपछि उनलाई पक्राउ गरिएको थियो । २०३१ देखि २०४७ सम्म नेपाली कांग्रेसको महामन्त्री थिए । २०५३ वैशाखमा काठमाडौंमा भएको पार्टीको नवौं महाधिवेशनबाट उनी पार्टी सभापति निर्वाचित भएका थिए ।२०४६ सालको जनआन्दोलनपछि भएको नेपालको पहिलो बहुदलीय लोकतान्त्रिक निर्वाचनमा मोरङ क्षेत्र नम्बर १ र सुनसरी क्षेत्र ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
लोकतन्त्र प्राप्तिपछि भारतीय प्रधानमन्त्री मनमोहन सिंहबाट ‘एसियाकै महान् नेता’ भनी सम्मान पाएका कोइराला १० वर्ष लामो सशस्त्र युद्ध गरेको नेकपा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।










