काठमाडौं- श्रम तथा रोजगार मन्त्री गोकर्णराज विष्टले संविधानमा मौलिक हकका रुपमा रहेको रोजगारको हकको कार्यान्वयनका लागि सम्भाव्यता अध्ययन गरी आवश्यक नीति ल्याइने बताएका छन्।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री विष्टले वाम गठबन्धनको चुनावी घोषणापत्रका आधारमा रोजगार नीति ल्याउन पहल गर्ने बताएका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मन्त्री विष्टले भने, 'मुलुकमा लाखौं युवा बेरोजगार छन्, सरकार मूकदर्शक भएर बस्न सक्दैन। स्वदेशमै रोजगार सिर्जनाका आधारहरू खोज्नु आवश्यक छ र यसका लागि दक्ष जनशक्तिको उत्पादनमा पनि लाग्नुपर्छ।'

वैदेशिक रोजगारका क्षेत्रमा आफ्नै पार्टीका कार्यकर्ता भए पनि अनियमितता र ठगी गर्ने कार्यमा संलग्न भएको पाइएमा कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले यस क्षेत्रमा हुने सिन्डिकेट तोड्न प्रभावकारी कदम चाल्ने बताए।

मन्त्री विष्टले कानुन विपरीत सबै कामलाई हतोत्साहित र निरुत्साहित गर्न आफू पछि नपर्ने उल्लेख गर्दै काठमाडौँ उपत्यका बाहिर पनि क्रमशः श्रम स्वीकृतिको प्रबन्ध सुरु गरिएको जानकारी दिए। (रासस)