संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले दक्ष जनशक्तिका रूपमा रहेका निजामती कर्मचारीलाई स्वैच्छिक अवकाश दिन नसकिने बताएका छन् ।

विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले चिकित्सकको सफारिसमा मात्र शारीरिक एवं मानसिकरूपमा अशक्त कर्मचारीलाई मात्र स्वच्छिक अवकाश दिन सकिने प्रष्ट पारे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले सरकारले तोकेको ठाउँमा कर्मचारी कार्य गर्न जानुपर्ने अन्यथा सरकार बाध्य भई कारबाही गर्ने दृढतासमेत व्यक्त गरे । मन्त्री पण्डितले वर्तमान संक्रमणकालीन अवस्थामा सरकारको तीनवटै तहमा कर्मचारी खटाउनुपर्ने भएकाले कर्मचारीलाई बिदा दिने पक्षमा सरकार नभएको धारणा व्यक्त गरे ।

मन्त्री पण्डितले आगामी आइतबार सबै मन्त्रालयमा तोकिएको क्षेत्रमा कर्मचारी पठाउनका लागि पत्र पठाउने जानकारी दिँदै सम्बन्धित ठाउँमा नजाने कार्मचारीलाई निजमती ऐनअनुसार कारबाही हुने बताउनु भएको छ । उनले अहिलेसम्म ७८ प्रतिशत कर्मचारी आफ्नो कार्यक्षेत्रमा पुगिसकेको र अर्को हप्तादेखि कार्यक्षेत्रमा नजाने कर्मचारी कारबाहीको भागिदारी स्वयम् हुनुपर्ने बताए ।

मन्त्री पण्डितले सरकारले खटाएका कर्मचारीलाई पहिलेको कार्यालयमा हाजिर गराउन खोजिए कार्यालय प्रमुख पनि कारबाहीको भागिदार हुने प्रष्ट पारे । अहिलेको सरकारको प्रमुख लक्ष्य भनेको आर्थिक समृद्धि र विकास भएकाले त्यसका लागि राष्ट्रसेवक कर्मचारीको सहयोग आवश्यक रहेको बताए ।

एक प्रश्नको जवाफमा मन्त्री पण्डित अघिल्लो सरकारले गरेका कतिपय निर्णयको मूल्यांकन गरिने र कानुनविपरीत भएकामा खारेज हुने बताए । उनले संघीयता असफल नहुने बताउँदै यसमा देखिएका कमी कमजोरी हटाउँदै यसलाई सफल कार्यान्वयन गर्न सरकार कटिबद्ध रहेको छ, भने ।