संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले स्वेच्छिक अवकासका लागि निवेदन दिएका सबै कर्मचारीलाई बिदा नदिने बताएका छन्। आर्थिक बोझ बोकेर सक्षम जनशक्ति बाहिरिन दिने पक्षमा सरकार नरहेको पनि उनले स्पष्ट पारे।

बुधबार विराटनगरमा पत्रकारसँग कुरा गर्दै मन्त्री पण्डितले काम गर्नै नसक्ने अवस्थाका अशक्त कर्मचारीलाई मात्रै अवकास दिइने बताए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अवकासका लागि निवेदन दिन पाउने कर्मचारीको अधिकार भए पनि त्यसलाई स्वीकृत गर्ने/नगर्ने भन्ने अन्तिम निर्णय सरकारले गर्न पाउने कानुनी व्यवस्था रहेको उनले बताए। संघीय संरचना अनुसार प्रदेशमा कर्मचारी अभाव हुनसक्ने संकेत गर्दै उनले राष्ट्रसेवक कर्मचारीले सरकारले पठाएको ठाउँमा गएर जनताको सेवा गर्नुपर्ने धारणा राखे।

‘सरकारले तोकेको ठाउँमा कर्मचारीले गएर काम गर्नुपर्छ’ भन्दै पण्डितले कर्मचारीको रोजीछाडी अब नचल्ने पनि बताए।

नयाँ जिम्मेवारी पाएकामध्ये ७८ प्रतिशत कर्मचारी कार्यक्षेत्रमा पुगिसकेको जानकारी दिँदै उनले चैत १२ गतेभित्र बाँकी कर्मचारी कार्यक्षेत्रमा नगई पुरानै ठाउँमा हाजिर गरे सम्बन्धित कार्यालय प्रमुखलाई कारबाही गरिने आशयको पत्राचार समेत मन्त्रालयलाई गरिएको बताए।

‘समयभित्र नपुग्ने कर्मचारीलाई निजामती ऐन अनुसार बर्खास्त गरिन्छ’, उनले भने।

नेपाल लाइभ बाट साभार