प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेका सचिव योगेश भट्टराईलाई कडा चेतावनी दिएका छन् । एमाले अध्यक्ष समेत रहेका ओलीले सामाजिक सञ्जालमार्फत अनावश्यक दबाब नदिन प्रतिनिधिसभाका सांसद एवं पार्टी सचिव भट्टराईलाई चेतावनी दिएका हुन् ।
सचिव भट्टराईलाई मन्त्री नबनाएको भन्दै सामाजिक सञ्जालमा अहिले प्रधानमन्त्री ओलीको चर्काे आलोचना भइरहेको छ । ओलीमाथि चौतर्फी दबाब बढेको छ । सामाजिक सञ्जालमार्फत ओलीलाई योगेशको बारेमा दबाब आएपछि प्रधानमन्त्री ओली यतिवेला रुष्ट बनेका छन् । स्रोतका अनुसार ओलीले आफूलाई ‘सोसल मिडिया’मार्फत अनावश्यक दबाब नदिन भट्टराईलाई ‘चेतावनी’ नै दिएका छन् ।
दोस्रोपटक मन्त्रिमण्डल विस्तार हुँदा योगेश पनि मन्त्री हुने धेरैले आशा गरेका थिए । तर, प्रधानमन्त्री ओलीले उनलाई आफ्नो मन्त्रिमण्डलमा अटाएनन् । उनलाई कुनै वास्ता नै गरेनन् । अब संघीय समाजवादी फोरमका लागि भनेर दुई मन्त्री र एक राज्यमन्त्रीको कोटा खाली राखेका छन् । योगेश प्रतिनिधिसभामा निर्वाचित पार्टीका पदाधिकारीमध्ये मन्त्री नपाउने एकमात्र व्यक्ति हुन् ।
उनी ताप्लेजुङबाट निर्वाचित भएका थिए । ताप्लेजुङमा भएको चुनावी सभामा अध्यक्ष ओलीले ‘तपाईहरु योगेशलाई जिताएर पठाउनुस्, म मन्त्री बनाएर पठाउँछु’ भनेर भाषण गरेका थिए । उनको भाषण अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । दैनिक नेपाल बाट










