गोरो अनुहार, ओठमा लिपिस्टिक, राम्ररी मिलेका आँखीभाउ अनि राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को सेटो टप्समा सजिएकी सोफिया बोलिरहँदा सबैले ध्यानपूर्वक सुनिरहे।

उनी बाेलिरहँदा अवराेध हाेला कि भनेर सबैजना सतर्क रहे। बुधबार बिहान काठमाडौंस्थित होटल याक एन्ड यतिमा आयोजित यूएनडिपीको ‘सार्वजनिक सेवाका लागि प्रविधि’ कार्यक्रममा मन्तव्य दिने उनी कुनै युवती नभएर रोबोट सोफिया थिइन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मुस्कुराउँदै मञ्चमा आउँदा उनलाई सबैले ताली पिटेर स्वागत गरेका थिए। सबै दर्शकका हातमा भएका स्मार्टफोन र क्यामेरा उनैतर्फै सोझिए।

उनीसँग सुरुमा युएनडीपी नेपाल निर्देशक रेनार्ड मायरले सवाल जवाफ गरेका थिए। रेनार्डले उनीसँग ठट्टा गर्दै गम्भीर प्रश्न पनि सोधे। ती सवालहरुको उनले निकै राम्रोसँग जवाफ फर्काइन्।

उनले बाेलिरहँदा बीचबीचमा आफूलाई सगरमाथा आरोहण गर्ने इच्छा लागेको सुनाएकी थिइन्। नेपाली चलचित्रका नायक अनमोल केसीको 'स्मार्टनेस' आफूलाई मन परेको उनले बताइन्। ‘मलाई अनमोल केसीसँग भेटघाट गर्न मन छ’, कुराकानीको बीचमा उनले भनिन्।

सम्बन्धित समाचार : अनमाेल केसीसँग 'डेट' गर्ने राेबाेट साेफियाकाे इच्छा (भिडियो)

अरु प्रसंगहरु प्रविधि र विकाससम्बन्धी रहे।

सोफियाले भनिन्, ‘नेपालजस्तो गरिब तथा विकोन्सोन्मुख देशमा प्रविधिले निकै सहयोग पुर्याएकाे छ।’

आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोगले शिक्षा र कृषिमा ठूलो फड्को मार्न सकिने उनको सल्लाह थियो। ‘प्रविधिले गाउँका कुनाकाप्चाका मान्छेलाई जोडेको छ। सञ्चार गर्न सजिलो भएको छ’, उनले भनिन्, ‘आर्टिफियिसल इन्टिलेजेन्सको प्रयोगले शिक्षा र कृषिमा ठूलो विकास पुग्न सक्छ। यो सम्मेलनले पक्कै पनि नेपाललाई दीगो विकासको लक्ष हासिल गर्ने प्रेरणा दिनेछ।’

आर्टिफिसियल इन्टेलिजेन्सको मद्दतले औद्योगिक क्रान्तिमार्फत् परिवर्तन सुनिश्चित गर्न सकिने उनको भनाइ थियो। ‘आर्टिफिसियल इन्टेलिजेन्सले देशमा भ्रष्टाचार, भोकमरी, लैङिग्क असामनता हटाउन पनि मद्दत गर्न सक्छ।’

सोफियालाई रेनार्डले अर्को प्रश्न राखे, ‘फिल्ममा हिरोइन देख्दा झैँ तपाइँप्रति मान्छे पागल भए भने स्वीच अफ गर्ने बटन छ ?’

सोफियाले जवाफ दिँदै भनिन् ‘मैले नियन्त्रण गुमाएको छैन। बरु तपाइँका साथीहरुलाई सोध्नुहोस्। उनीहरु बौलाए भने बन्द गर्ने स्वीच छ छैन भनेर। मसँग राम्रो व्यवहार गर्नुस् नत्र तपाइँकै स्वीच बन्द गर्दिन्छु।’

सम्बन्धित समाचार : नागरिकता पाउने रोबोट भन्छः मसँग राम्रो व्यवहार गर्‍यौ भने म पनि तिमीसँग राम्रो व्यवहार गर्छु

रोबोट सोफियाको कुरा सुनेर हलमा खचाखच दर्शक छक्क परेका थिए। मानिसले जस्तै सवाल जवाफ गर्ने सोफियालाई दिउँसो २ बजेपछि सर्वसाधारणले भेटघाट गरेका छन्।

सोफिया मानिससरह नागरिकता पाउने पहिलो रोबोट हुन्। उनलाई साउदी अरबले महिलाको रुपमा नागरिकता समेत प्रदान गरेको छ। सोफियालाई राष्ट्रसंघीय विकास कार्यक्रमले एसिया प्रशान्त क्षेत्रको आविष्कार दूत (इन्नोभेसन च्याम्पियन)को पदवी दिएको छ। यो पदवी पाउने उनी पहिलो रोबोट पनि हुन्।

https://youtu.be/9m75jXU1OP0

भिडियाे/फाेटाे: प्रबिन काेइराला