काठमाडौँ । गत फागुन २८ गते सोमबार युएस बंगला विमान दुर्घटना भयो । बंगलादेशको ढाकाबाट काठमार्डौ आउने क्रममा उक्त विमान दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा विमान ध्वस्त हुनुका साथै ठूलो मानविय क्षति भयो ।
गजेन्द्र थापाले पनि विमान दुर्घटनामा छोरी गुमाए । दुर्घटना हुँदा गजेन्द्रकी एमबीबीएस अध्ययनरत छोरी श्वेताको निधन भएको थियो । तर शोकमा डुबेका गजेन्द्रले छोरीको दाहसंस्कारसमेत गर्न नपाएकोमा दुःखी भएका छन् । बंगलादेशस्थित जलालावाद रागिब रविया मेडिकल कलेजमा अध्ययनरत श्वेता एक महिने छुट्टीमा घर फर्कंदै थिइन् । ‘छोरीको शवसमेत हेर्न पाइनँ,’ थापाले भने, ‘दाहसंस्कार गर्न खोजेको थिएँ । त्यो पनि पाइनँ ।’
उनले गत जेठमा उर्मिला प्रधानसँग सम्बन्धबिच्छेद गरेका थिए । सम्बन्धविच्छेद भएदेखि नै श्वेतालाई हुर्काउने पढाउने सबै उर्मिलाले नै गरेकी थिइन् । श्वेताले आमाको पीडा देखेर आमालाई सम्बन्ध बिच्छेद गर्न भनेकी थिइन् ।
तर उमिर्लाका बुबाले भने छोरीसँग सम्बन्ध राम्रो रहेका बताएको छ । उनले छोरीको दाहसंस्कार गर्न नपाउदा दुखेसो पनि पोखेका छन् । उनलाई प्रहरी–प्रशासनले समेत शव हेर्न र दाहसंस्कार गर्न असहयोग गरेको बताए ।
दाहसंस्कार गर्न पाऊँ भनेर निवेदन दिँदासमेत गौशाला प्रहरी बिट र प्रहरीले दर्ता गर्न नमानेको उनले दुःखेसो पोखे । काठमाडौं प्रहरी परिसरमा निवेदन दर्ता गरेको भए पनि असहयोग भएको दुःखेसो व्यक्त गर्दै उनले भने, ‘सम्बन्धविच्छेद भए पनि मैले पनि छोरीको दागबत्ती दिन पाउनुपर्छ । दाहसंस्कार सामूहिक गरौं भन्ने मनसाय थियो ।’ तर काठमाडौं प्रहरी परिसरका मुद्दा शाखाका प्रहरीले आफूमाथि दुव्र्यवहार गरेको र अदालत जानुस् भनी फर्काइदिएको उनले बताए ।
छोरीको सदगत गर्न पाऊँभन्दा राजनीतिक हस्तक्षेप भएको उनले दाबी गरे । ‘पत्नीसँग सम्बन्धविच्छेद भए पनि छोरीसँग सम्बन्ध कायमै थियो,’ उनले भने, ‘सम्बन्धविच्छेद पत्रमा पनि छोरीको अंश मसँगै थियो ।’ आफूलाई छक्याएर आस्थाको शव एकतर्फी रूपमा लगिएको उनले गुनासो पोखे ।
न्यूज २४ नेपाल बाट









