काठमाडौं । प्रधानमन्त्री केपी ओली चैत अन्तिम साता छिमेकी भारतको राजकीय भ्रमणमा निस्किने भनिएको छ । यद्यपि उनको भ्रमणको यकिन भएको छैन । कतिपय संचार माध्यमले (२५ गतेदेखि २७)सम्मको मितिनै उल्लेख गरी समाचार लेखिदिए । यो तिथीको औपचारिक पुष्टि भने भइसकेको छैन । नेपालबाट राष्ट्र प्रमुखले गर्ने भारत भ्रमण प्रायः राजकीय नै हुन्छ । ओली, सरकार प्रमुख हुन् ।
कूटनीतिक तहमा राष्ट्र वा सरकार प्रमुखको भ्रमण पाँच किसिमको हुन्छ । यसमा राजकीय भ्रमण पहिलो नम्बरमा आउँछ । त्यसपछि औपचारिक भ्रमण, कार्यगत भ्रमण, निजी भ्रमण र सरकारी पाहुनाको रुपमा भ्रमण हुन्छ । अहिलेसम्म बेलायती महारानी एलिजावेद द्वितीयले २ सय ६१ पटक विदेश भ्रमण गरेकी छन् । त्यसमध्ये उनका ९६ वटा भ्रमण राजकीय रहे । विश्वमा सबैभन्दा धेरै राजकीय भ्रमण गर्ने नाम एलिवाजेद नै हो । राजकीय भ्रमणका लागि न्यूनतम यी १० कुरा आधारभूत रुपमा हुनैपर्छ–
१. आगन्तुक पाहुनालाई सम्भव भएसम्म समकक्षीले नै स्वागत गर्नुपर्नेछ । २. आगन्तुकको सम्मानमा २१ तोपको सलामी दिइन्छ । ३. सम्बन्धित देशको सेनालाई दुवै देशको राष्ट्रिय धुन बजाउँछ । राष्ट्रिय धुन बजाउँदा पाहुनाको राष्ट्रिय धुनलाई पहिलो प्राथमिकता दिइन्छ । ४. गार्ड अफ अर्नरका रुपमा उच्च सैन्य सम्मान दिइन्छ । ५. पाहुनाको औपचारिक परिचय सम्बन्धित देशका वरिष्ठ अधिकारीहरुसँग गराइन्छ । ६. दुई राष्ट्रप्रमुखबीच उपहार आदान–प्रदान हुन्छ । ७. पाहुनाका लागि देशकै तर्फबाट रात्रिकाली खाना कार्यक्रम आयोजना गरिन्छ । ८. पाहुनाले भ्रमण गरेको राष्ट्रको विशेष स्थान, सैन्य उपलब्धी जनाउने स्थान वा राज्यको विशिष्ठ व्यक्तिको समाधिस्थल भ्रमण गर्छन् । ९. पाहुना प्रमुखका साथ सामान्यता विदेशमन्त्री पनि रहने प्रचलन छ । १०. भ्रमणको अन्त्यमा पाहुना राष्ट्रका प्रमुखले आफ्ना समकक्षीलाई आफ्नो देशको भ्रमण गर्न निम्तो दिने प्रचलन छ । सामान्यत: राजकीय भ्रमणको सबै खर्च भ्रमण गरेको देशले नै व्यहोर्छ ।










