तेस्रो पटक सरकार विस्तार हुँदा संघीय समाजवादी फोरमपनि सरकारमा सहभागि हुने चर्चा थियो । अरु मन्त्रीसँगै फोरमको तर्फबाट पनि मन्त्रीको शपथ हुने लगभग ‘कन्फर्म’ छ भनिएको थियो । तर, त्यही दिन फोरमका नेताहरु पार्टीभित्र सहमति नभएको भन्दै दिउँसोपख सहमति जुटाउन धुलिखेल हान्निए । यता, शितलनिवासमा एमाले–माओवादीबाट थपिएकाहरुले शपथ लिए ।

पछिल्लो पटक सरकार विस्तार भएको बिहीबार एक हप्ता पुग्यो । तर, फोरम सरकारमा सहभागी हुनु त परै जाओस् अबरु यसको चर्चा पनि मत्थर हुँदै गएको छ । अन्य मन्त्रीले काम थालिसक्दा पनि सहरी विकास र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री केपी शर्मा ओलीसँगै छ । र, ती मन्त्रालय फोरमका लागि राखिएको भनिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तर, लामो समयसम्म पनि फोरम सरकारमा सहभागी नहुँदा विभिन्न खालका शंका उब्जिएका छन् । फोरमभित्रको आन्तरिक किचलो र सरकारसँगको सहमति ढिलाईले फोरम मन्त्रिमण्डलमा पुग्न समय लागेको विश्लेषण गरिएको छ । फोरमभित्र सांसदद्वय राजेन्द्र श्रेष्ठ र रेणु यादव सरकारमा जान ईच्छुक छन् । तर, नेताहरुको विरोधले गर्दा श्रेष्ठ पछि हटिसकेकेको बताइन्छ । रेणुले अझै अडान छाडेकी छैनन् । यी दुवै समानुपातिक सांसद हुन् । फोरमभित्र प्रत्यक्ष जितेकालाई सरकारमा सहभागी गराउन दबाब छ ।

फोरमबाट अध्यक्ष उपेन्द्र यादव सरकारमा जाने लगभग निश्चित जस्तै भएपनि अर्का एक मन्त्री र राज्यमन्त्रीको टुङ्गो लागेको छैन । गएको आइतबार बसेको फोरमको बैठकमा समेत सहमति नजुटेपछि अध्यक्ष यादवले प्रधानमन्त्री ओलीसँग संविधान संशोधन र अन्य मुद्दाहरूका बारेमा छलफल गरेर मात्रै सरकारमा सहभागी हुने वा नहुनेबारे निर्णय गर्ने बताएका थिए । सत्तारुढ दल एमाले–माओवादी केन्द्रले संविधान संशोधनमा लिखित प्रतिबद्धता जनाउनुपर्ने अध्यक्ष यादवको अडान छ ।

फोरमलाई २ वटा महत्वपूर्ण मन्त्रालय दिन समेत प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राजी छन् । तर, संविधान संशोधनका विषयमा भने औचित्यका आधारमा निर्णय गरिने प्रधानमन्त्री ओलीले यसअघि नै बताइसकेका छन् ।

बालुवाटर स्रोतका अनुसार पछिल्लो समय प्रधानमन्त्री ओली र फोरम अध्यक्ष यादवबीच सरकारमा सहभागिताका विषयमा कुनै औपचारिक कुराकानी भएको छैन । प्रधानमन्त्री ओली फोरमको निर्णय कुरेर बसिरहेको बालुवाटार स्रोतले जनाएको छ । ‘फोरमले निर्णय गरेर आउनेबित्तिकै शपथ गराउने प्रधानमन्त्री ज्यूको तयारी छ’, स्रोतले भन्यो । दैनिक नेपाल