नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वसांसद बालकृष्ण ढुंगेलले लेखेका गीतहरुको एल्बम ‘खाली खुट्टे’ बिहीबार राजधानीमा सार्वजनिक गरिएको छ।

एल्बमको माओवादी नेता एवं पूर्वमन्त्री राम कार्की, पूर्व शिक्षामन्त्री धनीराम पौडेल, राष्ट्रिय गीतका रचयिता व्याकुल माइला, लेखक युग पाठक र ढुंगेलकी जेठी छोरी विनिता ढुंगेलले सामूहिक रुपमा विमोचन गरे।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

एल्बममा अञ्जु पन्त, शिव परियार, चेतन सापकोटा, दीपक लिम्बुलगायतका चर्चित गायक गायिकको स्वर रहेको छ।

ढुंगेल यतिबेला ‘जनयुद्ध’का क्रममा ओखलढुंगाका उज्जन श्रेष्ठको हत्या मुद्धामा डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका छन्।

बालकृष्णकी छोरीले देशमा गणतन्त्र आएपनि गणतन्त्रका लागि लड्नेको परिवारलाई गणतन्त्र नआएको गुनासो गरिन्। ‘देशमा गणतन्त्र आयो तर जो मान्छे गणतन्त्रका लागि लडेको थियो, उसको गणतन्त्र कता हरायो ? उसको परिवारको गणतन्त्र कता हरायो ?’

आफूहरुलाई पटकपटक बालकृष्णकी छोरी भनेर समाजमा अपमानित गरिएको तर कसैले पनि बालकृष्ण ढुंगेलको परिवारको मानव अधिकारका विषयमा नबोलेको भन्दै उनले आक्रोश व्यक्त गरिन्। ‘हामीलाई बालकृष्णको श्रीमती, छोरी भएकै कारण पटकपटक अपमानित गरियो तर सावित्री श्रेष्ठको मानवअधिकारको वकालत गर्नेहरुले किन हाम्रो मानवअधिकार पनि हुन्छ भन्ने नसोचेकोरु’ उनले प्रश्न गरिन्। आफूलाई बालकृष्णकी छोरी हुनुप्रति गर्व रहेको भन्दै उनले जनताको मुटुमा बसेको बुबा सबैले नपाउने बताइन्।

बालकृष्ण जेलमा रहनुको अर्थ एउटा आन्दोलन जेलमा छ भन्ने होः राम कार्की

पूर्व सूचना तथा सञ्चारमन्त्री राम कार्कीले बालकृष्ण ढुंगेल जेलमा रहनुपर्ने अहिलेको परिस्थितिप्रति सचेत बन्नुपर्ने बताए। ‘बालकृष्ण ढुंगेल जेलमा रहनुको अर्थ एउटा आन्दोलन जेलमा छ, यो राज्यसत्ता भत्काउने आदर्श बोकेको राज्यसत्ता जेलमा छ भन्ने हो,’ उनले भने, ‘बालकृष्ण जेलमा रहनुपर्ने परिस्थितिप्रति सजग बनौं, हामी ढुक्क नहौं।’

उनले बालकृष्ण ढुंगेललाई सधैं बन्दुक बोकेर हिँडिरहने कुख्यात अपराधीजस्तो गरेर चित्रित गर्नेलाई ढुंगेलका गीत हेर्न सुझाए। ‘बालकृष्णलाई बन्दुक बोकेर हिँडिरहेको सार्प सुटरजस्तो रुपमा चित्रित गर्ने काठमाडौंको एउटा समूहले बालकृष्णका यी गीत हेरोस्, भावुक र करुण मन नभएको कोही पनि सच्चा क्रान्तिकारी बन्न सक्दैन।’

बालकृष्णको चाँडोभन्दा चाँडो रिहा होस् भन्ने चाहन्छुः व्याकुल माइला

कार्यक्रममा बोल्दै व्याकुल माइलाले बालकृष्ण ढुंगेललाई निषेध र बहिष्कार गर्नु गलत भएको बताए। उनले मिडियामा ढुंगेललाई आतंककारी र कुख्यात अपराधीका रुपमा चित्रित गरिएको भन्दै उनी राजनीतिक बन्दी भएको तर्क गरे। ‘मिडियाले जसरी बालकृष्णको कुख्यात अपराधी र आतंककारीको बिम्ब तयार पारेको छ, म पनि समाजशास्त्रको विद्यार्थी हुँ, सामाजिक मनोविज्ञान बुझ्छु, उहाँलाई निषेध र बहिष्कार गर्नु गलत हो,’ माइलाले भने।

१० वर्षे ‘जनयुद्ध’ का क्रममा भएको घटना भएकाले ढुंगेल राजनीतिक बन्दी भएको भन्दै उनले चाँडै ढुंगेललाई भेट्न जेल जाने बताए।

युग पाठकको प्रश्नः शक्तिको चलखेल हुने ठाउँमा बालकृष्णले कसरी न्याय पाउँछन् ?

लेखक युग पाठकले शक्तिको खेल हुने अदालतमा बालकृष्ण र सामान्य नागरिकले न्याय नपाउने बताए। ‘सर्वोच्च अदालतको टप बेन्चमा खेल चलिरहेको छ, केही समयअघि न्यायाधीश चोलेन्द्र शमशेरले कविताजस्तै एउटा फैसला सुनाए, उनको फैसलाले वैधानिक रुपमा संसदमा चलेको प्रधानन्यायाधीश विरुद्धको मुद्धा फिर्ता हुन्छ,’ उनले भने, ‘साउनमा कार्यकाल सकिएका गोपाल पराजुलीको उमेर उनै चोलेन्द्रलाई अहिले थाहा हुन्छ, अनि बालकृष्ण र सामान्य नागरिकले अदालतबाट कसरी न्याय पाउँछ ?’

पाठकले सामान्य नागरिकले समेत बालकृष्णको मुद्धामा चलखेल छ भन्ने बुझ्न कठिनाइ नहुने बताए। ‘अदालतको यो आदेशमा चलखेल छ भनेर साधारण नागरिकले पनि बुझ्छन्, आन्दोलन र संघर्ष बीचमै छुटेको अवस्था छ, आन्दोलन बीचमा छुटेको छ भन्यो भने प्रचण्डलाई धेरै पढेर यसको दिमाग खुस्कियो भन्ने लाग्छ,’ उनले भने। उनले इतिहास सैयौं वर्षपछि पनि खोतलिने बताउँदै ढुंगेलको मुद्दा पनि कुनैदिन पुनः खोतलिने बताए। नेपालखबरबाट